PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

डा. केसीको समर्थनमा उत्रिएका ३१ प्रदर्शनकारी पक्राउ



पहिलोपोस्ट

डा. केसीको समर्थनमा उत्रिएका ३१ प्रदर्शनकारी पक्राउ

काठमाडौं : आमरण अनसनमा रहेका डा. गोविन्द केसीको समर्थनमा उत्रिएका प्रदर्शनकारीहरुलाई आज दिउँसो प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ।

सोलिडारिटी फर डा. गोविन्द केसी अलायन्सको अगुवाइमा निस्किएका ३१ प्रदर्शनकारी पक्राउ परेका हुन्। त्रिवि उपकुलपति तीर्थ खनियाँलाई दबाब दिन पुगेका उनीहरुलाई खनियाँको निवास कलंकीबाट प्रहरीले पक्राउ गरेको हो। 'शान्तिपूर्ण प्रदर्शन गरिरहेका थियौं। प्रहरीले जबरजस्ती धरपकड गर्दै साथीहरुलाई पक्राउ गरेर लगेको छ,' डा. जीवन क्षेत्रीले भने। उनीहरुले खनियाँको राजीनामा माग गर्दै आएका छन्। शिक्षामन्त्री धनीराम पौडेलको घरमा दबाबमूलक प्रदर्शनपछि केसी समर्थकहरु खनियाँ निवास कलंकी पुगेका थिए।
 
यसअघि उनीहरुले माइतीघर मण्डलाबाट बानेश्वरसम्म र्‍याली निकालेका थिए। प्रधानमन्त्री, शिक्षामन्त्री र त्रिवि उपकुलपतिलाई प्रतीकात्मक रुपमा उनीहरुले सिटामोल दान गरेका थिए।

१४ दिनदेखि आमरण अनसनमा रहेका केसीको मागप्रति सरकार उदासीन रहेको भन्दै उनका समर्थकहरु आन्दोलनमा उत्रिएका छन्। शिक्षण अस्पतालका आवासीय चिकित्सकहरु समेत बहिरंग विभाग (ओपिडी) सेवा बन्द गरी आन्दोलनमा छन्।

यसैबीच, केसीसँग वार्ता गर्न सरकारले आजै दुई सदस्यीय वार्ता टोली बनाएको छ। जसमा शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ र स्वास्थ्य मन्त्रालयका सचिव डा. सेनेन्द्रराज उप्रेती छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell