
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान कार्यान्वयन र नयाँ निर्वाचनका लागि सरकार प्रतिबद्ध रहेको र त्यसका लागि आवश्यक तयारीमा जुटेको बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले संविधान कार्यान्वयनका लागि नै वर्तमान सरकार गठन भएकाले सोही दिशामा लागेको बताए।
'हुँदै नभएका र सोच्दासमेत नसोचेका विषय प्रचार गरेर सरकारको ओज घटाउने काम भइरहेको छ,' प्रधानमन्त्रीले भने, 'सरकार आफ्नो लक्ष्यमा प्रतिबद्ध छ, बाहिर कसले के भन्यो भन्दा पनि सरकारले के गर्यो भन्ने विषय प्रमुख हो।'
सरकारले एक/दुई दिनभित्रै असन्तुष्ट पक्षको माग सम्बोधन गर्ने गरी संविधान संशोधनको प्रस्ताव दर्ता गराउने तयारीमा रहेको र सोका बारेमा सरोकार भएका पक्षसँग निरन्तर संवादमा रहेको उनको भनाइ छ। उनले यो पनि हुँदैन, त्यो पनि हुँदैन भन्ने मान्यता नराख्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई आग्रह समेत गरेका छन्।
'मुलुकको समस्या समाधान गर्ने पवित्र लक्ष्यका साथ काम गर्दा जता पनि अप्ठ्यारो मात्रै पार्ने प्रवृत्तिका साथ केही शक्ति लागेको छ,' उनले भने, 'तर मैले देश र जनताको हितभन्दा अरु केही सोचेको छैन।'