
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सञ्चारमाध्यमले आफ्नो नाम बिगारेर प्रस्तुत गर्ने गरेकोमा आपत्ति जनाएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले 'प्रचण्ड' क्रान्ति र परिवर्तनको नाम भएकाले केही सञ्चारमाध्यमलाई स्वीकार गर्न गाह्रो भएको बताए।
सरकारी सञ्चारमाध्यमले समेत आफ्नो नाम बिगारेको भन्दै उनले सूचना तथा सञ्चारमन्त्रीलाई किन त्यस्तो भइरहेको छ भन्दै तत्काल निरुपण गर्न निर्देशन दिए।
'मेरो राहदानी, नागरिकता, राष्ट्रपति कार्यालयबाट प्राप्त भएको पत्र, मन्त्रिपरिषद्को बैठकमा गर्ने हस्ताक्षर, प्रमुख राजनीतिक दलको बैठकमा गर्ने हस्ताक्षरमा समेत ‘प्रचण्ड’ लेख्ने गरेको छु,' उनले भने, 'तर सञ्चारमाध्यमले किन मेरो नाम बिर्गाछ यो मैले बुझ्न सकेको छैन।'
प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालको अध्यक्षतामा बसेको बैठकमा साङ्गठिनक र श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनका लागि चाल्नुपर्ने कदम लगायतका विषय समेटिएको सहमहासचिव विष्णु सापकोटाले जानकारी दिए।