PahiloPost

May 11, 2025 | २८ बैशाख २०८२

एक महिनापछि अपरमादीबाट थपिँदैछ २५ मेगावाट बिजुली



पहिलोपोस्ट

एक महिनापछि अपरमादीबाट थपिँदैछ २५ मेगावाट बिजुली

पोखरा : २५ मेगावाट क्षमताको अपरमादी जलविद्युत आयोजनाको निर्माण सकिएको छ। एक महिनापछि आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय ग्रीडमा जोडिनेछ।

कास्कीको सिल्दजुरे र नामार्जुङमा रहेको आयोजनाको निर्माण सकिएपछि विद्युतीय उपकरणको परीक्षण गरिएको छ। टर्वाइन, ट्रान्सफर्मर, जेनेरेटर सहितका उपकरण परीक्षण गर्दा कुनै समस्या नदेखिएको आयोजना कोअर्डिनेटर राजकुमार बराल जानकारी दिए। लेखनाथ सबस्टेसनमा रहेको १ सय ३२ केभी प्रसारण मार्फत चार्ज गर्न लागिएको हो।

मुख्य प्रशारण लाइनमा जोड्ने ३२ वटा पोलमा विद्युत चुहावटको परीक्षण समेत गरिने उनले जानकारी दिए। चार्जका क्रममा कतै समस्या देखिए मर्मत गरिने र समस्या नदेखिए मुहानबाट पानी ल्याएर विद्युत उत्पादन थालिने आयोजनाले जनाएको छ। एक महिनाभित्र पूर्ण क्षमतामा विद्युत उत्पादन गरिने आयोजना निर्देशक विजयबाबु मल्लको भनाइ छ।

उपकरण चार्जिङको बेला शुक्रबार बिहान ८ बजेदेखि आइतबार बिहानसम्म ८ बजेसम्म प्रभावित स्थानमा सतर्कता अपनाउन आयोजनाले स्थानीयसँग आग्रह गरेको छ। आयोजनादेखि लेखनाथ सबस्टेसनसम्मको क्षेत्रमा जोखिम  हुने भएकाले सजग रहन आग्रह गरिएको हो।

सिल्दजुरेको ढोडेनी इग्रिनी सामुदायिक वन क्षेत्र, छाचोक, कालिकाको रानीओडार लोसेपाखा, माझथुम, ठूलो स्वारा, तमलेक, बिमिरापानी, घिमिरे, नयाँखोर वन क्षेत्र र लेखनाथ नगरपालिकाको लामिछाने बाह्रघरे र सहेलोको पाखा बडहरे सामुदायिक वन क्षेत्रत्रमा सम्भावित खतराप्रति सचेत रहन आग्रह गरिएको हो। मुख्य प्रशारण लाइनमा जोड्न बनाइएका ३२ वटा पोलमा विद्युत चुहावट हुनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको हो। 
 
आयोजनाले अत्यावश्यक कामका लागि बाहेक अरु कामदारलार्इ बिदा गरेको छ। आयोजनामा कार्यरत ५ सय ३० कामदारलार्इ बिदा दिएर अत्यावश्यक कामका लागि ७० कामदार राखिएको छ। आयोजनामा चीनको चाइना थ्री गर्जेज कर्पोरेसन आबद्ध चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन (सीडब्लुई) को ८० प्रतिशत र मल्लको २० प्रतिशत लगानी छ।

काम सुरु भएको केही समयपछि सुरुङमा पहिरो गएका कारण काम प्रभावित भएको थियो। भूकम्प र नाकाबन्दीले आयोजनाको लागत ६ अर्ब ६० करोड रुपैयाँ पुग्यो। आयोजना निर्माण गर्दा ५ अर्ब ८० करोडमा सक्ने लक्ष्य राखिएको थियो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell