
काठमाडौं : काठमाडौंका सन्दिप शाह ठकुरी र रामेछापकी गीता लामाले प्रथम राष्ट्रिय खुला स्केटबोर्डिङ च्याम्पियनसिपमा शनिबार स्वर्ण जितेका छन्। सन्दिप पुरुष र गीता महिलामा पहिलो भए।
नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा चितवनका शरण श्रेष्ठ दोश्रो तथा भक्तपुरका गजेन्द्र बर्देवा तेश्रो भए।
महिलामा ललिपतुरकी नेहा पुन दोश्रो तथा काठमाडौंकी रोजिना डंगोल तेश्रो भए।
पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र ३ हजारका दरले नगद पुरस्कार पाए।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगितामा सन्दिप र गीता वर्षको उत्कृष्ट स्केट प्लेयर घोषित भएका छन्। दुवैले ८ हजार मूल्य बराबरको स्केट बोर्ड पुरस्कार स्वरुप प्राप्त गरे।
विजेतालाई पूर्व मन्त्री अग्निप्रसाद खरेल, युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव चूडामणि पौडेललगायतले पुरस्कृत गरे।
प्रतियोगिताको पहिलो दिन शुक्रबार भएको छनोट प्रतिस्पर्धामा ७५ पुरुष र २५ महिला खेलाडी सहभागी भएका थिए। त्यसबाट ८ पुरुष र ४ महिला खेलाडीले फाइनल चरणमा शनिबार प्रतिस्पर्धा गरेका हुन्।
कार्यक्रममा आयोजक संघका अध्यक्ष अच्युत खनालले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा स्केट पार्क निर्माण गर्ने योजना रहेको बताए।