PahiloPost

May 11, 2025 | २८ बैशाख २०८२

ढोरपाटन महिला भलिबलको मिति सर्‌यो, अब पुष २३ देखि माघ ८ सम्म



पहिलोपोस्ट

ढोरपाटन महिला भलिबलको मिति सर्‌यो, अब पुष २३ देखि माघ ८ सम्म

काठमाडौं : ढोरपाटन स्पोर्टस् प्रशिक्षण केन्द्रको आयोजनामा हरेक वर्ष हुने ‘ढोरपाटन ब्लु स्काई महिला डबल लिग भलिबल च्याम्पियनसिपको १२ औं संस्करणको मिति सरेको छ। नयाँ मिति अनुसार महिला भलिबल पुष २३ गतेबाट माघ ८ गतेसम्म हुनेछ।

यसअघि आयोजकले पुष ९ गतेबाट २३ गतेसम्म प्रतियोगिता सञ्चालन गरिने बताएको थियो। तर त्यहि मितीमा राष्ट्रिय खेलकुल परिषद्ले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति तोकेकाले प्रतियोगिताको मिति सार्नुपरेको आयोजकका अध्यक्ष तथा नेपाल भलिबल संघका सचिव मनवीर छन्त्यालले जानकारी गराए। 

सातौं राष्ट्रिय खेलकुदको नयाँ मिति र भलिबलको आयोजना मिती जुधेकाले नै प्रतियोगिता सार्न बाध्य भएको छन्त्यालले बताए। राखेपले सातौं राष्ट्रिय खेलकुदको पुष ८ गतेदेखि पूर्वाञ्चलका विभिन्न जिल्लामा गर्ने बताएको छ।

प्रतियोगितामा १० टिमको सहभागिता रहने आयोजकले जनाएको छ। १२ औं संस्करणमा सशस्त्र प्रहरीको एपिएफ क्लब, न्यू डायमण्ड एकेडेमी, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट स्कुल बुटवल, चण्डेश्वरी युथ क्लब रामेछाप, विजेश्वरी ज्ञानमन्दिर, रिड मोडल कलेज र आयोजक ढोरपाटन रहेका छन्। रिड मोडल कलेजबाट भने भारतीय खेलाडीहरुले खेल्ने आयोजकले बताएको छ। 

सर्वाधिक पुरस्कार राशिको महिला डबल लिग भलिबलको विजेताले ३ लाख २० हजारसहित रनिङ शिल्ड र मेडल प्राप्त गर्नेछन्। दोस्रो हुनेले १ लाख ६० हजार, तेस्रो हुनेले ७५ हजार प्राप्त गर्नेछन्। यस्तै चौथो देखि सातौ हुनेले क्रमशः ४५ हजार, ३५ हजार, २५ हजार र १५ हजार प्राप्त गर्नेछन्।  

५ खेलाडीलाई ५ स्कुटर
प्रतियोगिताको उत्कृष्ट खेलाडी, उदियमान खेलाडी,  वर्ष खेलाडी, प्लेयर अफ दि सिरिजले एक–एक थान टिभिएर स्कुटी प्राप्त गर्नेछन्। यस्तै हरेक १२ वर्षको अन्तरमा हुने गरी १२ वर्षको खेल दौरानमा खेलाडीले गरेको प्रदर्शनको आधारमा एक जना खेलाडीलाई ग्रेट अचिभमेन्ट अवार्डसहित एक थान स्कुटी प्रदान गरिने क्लबका महासचिव देवेन्द्र घतीमगरले जानकारी दिए। 

त्यसैगरी उत्कृष्ट स्पाईकर, डिफेन्स, लिफ्टर, सर्भिस, ब्लकर, क्विकर र उत्कृष्ट प्रशिक्षकलाई जनही ५–५ हजार पुरस्कार दिइने आयोजकले बताएको छ। महिला भलिबल लिग सकिएपछि आयोजकले पाँचौ संस्करणको पुरुष भलिबल पनि आयोजान गर्ने बताएको छ। 

अहिलेसम्म ३ टीमले मात्र ढोरपाटन भलिबलको उपाधि जितेको छ। पोखराको ज्ञानुबाबा उच्च माविले मन्जु गुरुङको कप्तानीमा ढोरपाटनको दोस्रो संस्करणदेखि छैटौं संस्करणसम्म लगातार पाँच पटक उपाधि जितेको थियो। एपीएफले आठौं संस्करणदेखि एघारौं संस्करणसम्म चारपटक उपाधि हात पारेको छ। पहिलो संस्करणमा त्रिभुवन आर्मी र सातौं सस्करणमा भने नेपाल पुलिस क्लब च्याम्पियन बनेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell