PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

​प्रिमियर लिग : टोटनहमलाई सिजनको पहिलो हार चखाउँदै चेल्सी पुनः शीर्ष स्थानमा



पहिलोपोस्ट

​प्रिमियर लिग : टोटनहमलाई सिजनको पहिलो हार चखाउँदै चेल्सी पुनः शीर्ष स्थानमा

प्रिमियर लिगमा टोटनहमको अपराजित यात्रा समाप्त भएको छ। लिग अन्तर्गत १३ औं चरणको खेलमा टोटनहमलाई चेल्सीले २-१ ले पराजित गरेको हो।

जितपछि चेल्सी भने म्यान सिटी र लिभरपुललाई पछि पार्दै पुनः अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। घरेलु मैदान स्टानफोर्ड ब्रिजमा टोटनहमले पहिले अग्रता लिएपनि चेल्सीले पुनरागमन गर्दै २ गोल गरेको थियो। 

खेलको ११ औं मिनेटमै क्रिस्टियन एरिक्सनले गोल गर्दै भ्रमणकारी टोली टोटनहमलाई पहिले अग्रता दिलाएका थिए। 

तर पहिलो हाफको अन्त्यतिर चेल्सीका पेड्रो रोड्रिग्वेजले गोल गर्दै १-१ को बराबरीमा पर्याए। ५२ औं मिनेटमा चेल्सीका भिक्टोर मोसेसले गरेको गोल नै टोटनहमलाई सिजनको पहिलो हार चखाउन पर्याप्त भयो।

यता चेल्सीको भने जारी सिजन यो दशौं जित हो। १३ खेलमध्ये १ मा बराबरी र २ हारको नतिजा निकालेको चेल्सी ३१ अंकका साथ शीर्ष स्थानमा छ।
म्यानचेष्टर सिटीले बर्नलेलाई हराएपछि चेल्सी अंक तालिकामा पछि परेको थियो। तर जितसँगै शीर्ष स्थानमा फर्किएको हो।

लिगकै अर्को खेलमा लिभरपुलले सण्डरल्याण्डलाई २-० ले हरायो। घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन डिभोग ओरिगी र जेम्स मिलनरले दोस्रो हाफमा १/१ गोल गरे।

जितपछि म्यान सिटी समान ३० अंक जोडेको लिभरपुल गोल भिन्नतामा दोस्रो स्थानमा उक्लेको छ भने सिटी तेस्रोमा झरेको छ। 

एक खेल कम खेलेको आर्सनल २५ अंकका साथ चौथो स्थानमा छ भने सिजनको पहिलो हार बेहोरेको टोटनहम २४ अंकका साथ पाँचौं स्थानमा छ।

यस्तै गोलको वर्षा भएको खेलमा स्वान्सी सिटीले क्रिस्टल प्यालेसलाई ५-४ ले पराजित गरेको छ। स्वान्सीलाई पुनरागमन जित दिलाउन वैकल्पिक खेलाडी फर्नान्डो लरेन्टले इन्जुरी समयमा २ गोल गरे।

अन्य खेलमा साविक विजेता लेस्टर सिटीले मिडल्स्ब्रोसँग २-२ को बराबरी खेल्दा हल सिटी र वेष्ट ब्रोमिच अल्विओनले १-१ को बराबरी खेलेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell