PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

फोन नम्बर १०४ को पीडा : सित्तैमा पाइने फोनमा महिला प्रहरीलाई अभद्र गाली



सविन ढकाल

फोन नम्बर १०४ को पीडा : सित्तैमा पाइने फोनमा महिला प्रहरीलाई अभद्र गाली

काठमाडौ : हेलो ! हेलो !! हेलो !!! 

को बोल्नुभयो ? फोन गर्नेले नै सोध्छ। 

तपाइँले कहाँ कल गर्नुभएको ? 

अर्कोतिरबाट आवाज सुनिन्छ- तँ बोल। नाईँ म बोल्दिनँ। ले-ले म बोल्छु। 

कलिलो आवाजमा स्वर सुनिन्छ - मैले तपाईँलाई नै कल गरेको हो। विभिन्न सवाल जवाफ पछि उसले भन्छ- दाइ मेरो मोबाइलमा रिचार्ज गरिदिनुन। 

अनावश्यक कुरा गर्न थालेपछि कल रिसिभ गर्न व्यक्ति रिसिभर राख्न  बाध्य हुन्छन्। लगत्तै अर्को टेलिफोन टिर्रर टिर्रर गर्छ। 
उनी उठाउँछन्, तर कसैको आवाज आउँदैन। 

यो दृश्य काठमाडौँको बालबालिका खोजतलास समन्वय केन्द्रको हो। हराएका बालबालिकाको उजुरी तथा जानकारी लिन तथा दिनको लागि देशभर नै सरकारले १०४ नम्बरमा निःशुल्क फोन सेवा उपलब्ध गराएको छ। 

निःशुल्क फोन नम्बर भएकोले यसमा मोबाइल र ल्यान्डलाइनबाट कल गर्दा पैसा लाग्दैन। यही सुविधाको गलत उपयोग ब्लफ कल गर्नेहरुले गरिरहेका छन्। 

केही समयअघि ब्लफ कलले नेपाल प्रहरीको यस्तै १०० नम्बरलाई सताएको थियो। घण्टौँसम्म कल गरेर टेलिफोन ब्यस्त गर्ने र महत्वपूर्ण घटना भए समयमा नै खबर हुन नसक्ने समस्या आएपछि प्रहरीले ब्लफ कल गर्नेको रेकर्ड राखेर कारबाही गर्न थालेको थियो। त्यसपछि  १०० को समस्या केही समाधान भएको छ। 

१०० को समस्या अब १०४ मा बढेको छ। केन्द्रको टेलिफोन शाखामा कार्यरत प्रहरी अधिकृत रामेश्वर खरेल भन्छन् - ब्लफ कल गर्नेहरुले रुवाएका छन्। राति झनै ब्लफ कलको लहर नै आउँछ। कर्मचारी नै वाक्क मान्ने गरी अनावश्यक कल आउने गरेको छ। 

काठमाडौँको भृकुटीमण्डपमा रहेको केन्द्रको १०४ नम्बरमा ५ वटा टेलिफोन सेट जोडिएको छ। यसमा २४ घण्टामा ५ सयभन्दा बढी कलहरु आउँछन् जसमा दैनिक २५ देखि ३० वटा कल वास्तविक नै हुन्छन्। खरेलका अनुसार सयको हारहारीमा फोन सोधपूछको लागि हुन्छन्। आएका
कल मध्ये ६० प्रतिशत भने ब्लफ कल नै हुने गरेको यहाँ कार्यरत कर्मचारी बताउँछन्। 

खनाल भन्छन्, दैनिक २ सय भन्दा बढी कल ब्लफ कल नै हुन्छन्। १०४ को फोन रिसिभ गर्नेमा महिला पनि रहेका छन्। ब्लफ कल गर्नेहरुले महिला भएको समयमा झनै अश्लील तथा भद्दा शव्दहरुको प्रयोग गरेर गाली समेत गर्न गरेको छन्। 

केही समयदेखि यहीँ काम गर्दै आएकी प्रहरी अधिकृत तारा खत्री भन्छिन् हामीलाई त अल्लारे उमेरका केटाहरुले कल गरेर मुखमा जे आयो त्यही बोल्छन्। सुन्नै नहुने शब्द प्रयोग गरेपछि रिसिभर राख्ने गरेका छौँ।

कर्मचारीका अनुसार ब्लफ कल अछाम, बाजुरा, काठमाडौँबाट बढी आउने गरेका छन्। स्काई मोबाइल प्रयोगकर्ता बढी ब्लफकल गर्नेमा छन्। ब्लफ कल गर्नेहरुले एउटै नम्बरबाट बारम्वार कल गरिरहेका हुन्छन्। 

खत्री भन्छिन् - आमाबुवाले खाना खाने समयमा बच्चा रोयो भने पनि बच्चालाई भुलाउन १०४ मा फोन लगाएर बोल्न दिन्छन्। हामीले कति अभिभावकलाई यस्तो नगर्नु भनेर त सम्झाउँछौँ तर भोलिपल्ट उही कुरा। समूहमा बालबालिका भेला भएर फोन गर्नेसमेत गरेका छन्। 
सरकारले जनताको सुविधाको लागी दिएको निःशुल्क नम्वरमा गलत सूचना टिपाउनेको पनि जमात उतिकै हुन्छ। हराउँदै नहराएको बच्चा हरायो समेत भनेर कल आउने गरेको खत्रीले सुनाइन्। 

'कुन ठाँउबाट हराएको नजिकको प्रहरीमा सम्पर्क गराईदिन्छौ भनेर नम्वर मागेर सोधिखोजी गर्न थालेपछि कल डिस्कनेट गर्छन्,' उनी भन्छिन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell