
बलिउड स्टार शाहरुख खान अभिनित चलचित्र 'डियर जिन्दगी'ले बक्स अफिसमा राम्रो कलेक्शन गरेको छ। शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले दुई दिनमा बिस करोडको व्यवसाय गरेको हो। पहिलो दिन आठ करोड पचहत्तर हजारको व्यवसायिक सफलता हात पारेको फिल्मले शनिबार मात्र एघार करोड पच्चिस लाख उठाएको थियो।
गौरी शिंदे निर्देशित फिल्मले यो विकेन्डमै (आईतबारसम्म) आफ्नो लगानी उठाउने बलिउड हंगामाले जनाएको छ। कम लगानीमा बनेको फिल्म भएकाले शाहरुखले डियर जिन्दगीमा आफ्नो मार्केट प्राइस घटाएर खेलेका हुन्। डियर जिन्दगीले आलिया भट्टको फिल्म हाइवेले भन्दा राम्रो बजार लिएको छ। जसमा शाहरुख खानको उपस्थितीले महत्वपुर्ण भूमिका खेल्यो।
फिल्म युनिटले मुख्य शहर र मल्टिप्लेक्सबाट राम्रो व्यवसाय आशा गरेपनि देशभर र बाहिरबाट पनि राम्रो संकलन गरेको छ। फिल्मले आईतबार बिहानसम्म पनि हाउसफूल शोहरु दिइरहेको छ।
गौरी खान, करण जोहार र गौरी शिंदेले निर्माण गरेको फिल्मले शुक्रबार ओपनिङ डेको सफलतासँगै फिल्म पत्रकार अलि पिटरजोनको उपचार खर्च व्यहोर्ने जनाएको थियो। जोन दुर्घटनाका कारण नानाभाटी सुपर स्पेसियालिटी अस्पतालमा उपचाररत छन्।
नोभेम्बर १९ का दिन पानी ट्याङ्करले उनको देब्रे खुट्टा खिचेको हो। अभिनेता शाहरुख खानले उनलाई भेटेर उपचार गरिदिने बताएका थिए।