
एलेक्सिस सान्चेजको दुई गोल मद्वतमा आर्सनलले प्रिमियर लिगमा एएफसी बर्नमाउथलाई ३-१ ले पराजित गरेको छ।
घरेलु मैदान एमिरेट्समा भएको खेलमा सान्चेजले १२ औं मिनेटमा पहिलो गोल गरे भने दोस्रो हाफको इन्जुरी टाइममा दोस्रो गोल गरे। आर्सनलका लागि थिया वाल्कोटले ५३ औं मिनेटमा एक गोल गरेका थिए। वर्नमाउथका लागि कलुम विल्सनले पेनाल्टीमा एक गोल फर्काएका थिए।
जितपछि १३ खेलबाट २८ अंक जोडेको आर्सनल अंक तालिकामा चौथो स्थानमा यथावत छ।
लिगकै अर्को खेलमा म्यानचेष्टर युनाइटेड वेष्टहमसँग १-१ गोलको बराबरीमा रोकिएको छ। घरेलु मैदान ओल्ड ट्राफोर्डमा दोस्रो मिनेटमै गोल बेहोरेको युनाइटेडले २१ औं मिनेटमा बराबरी गोल फर्काएको थियो।
साखाले गोल गर्दै वेष्टहमलाई अग्रता दिलाएका थिए। तर अग्रता लामो समय टिकेन र २१ औं मिनेटमा ज्लाटन इब्राहिमोभिचले हेडमार्फत युनाइटेडका लागि बराबरी गोल गरे।
बराबरीपछि युनाइटेड १३ खेलबाट २० अंक भएको छ जुन शीर्ष स्थानको चेल्सी भन्दा ११ अंकले कम हो।
अर्को खेलमा एभरटनलाई साउथह्याम्पटनले १-० ले हराएपछि युनाइटेड अंक तालिकामा छैटौ स्थानमै यथावत छ।
साउथह्याम्पटनलाई घरेलु मैदानमा जित दिलाउन खेलको पहिलो मिनेटमै चार्ली अस्टिनले गरेको गोल निर्णायक बनेको थियो।
जितसँगै १३ खेलबाट १७ अंक जोडेको साउथह्याम्पटन १० औं स्थानमा उक्लेको छ। १९ अंक रहेको एभरटन सातौं स्थानमा छ।