
लियोनल मेसीले गोल गरेको खेलमा बार्सिलोना रियल सोसिडाडसँग बराबरीमा रोकिएको छ। ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले सोसिडाडसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो।
सोसिडाडको मैदानमा भएको खेलमा पहिलो हाफमा गोल हुन नसकेपछि ५३ औं मिनेटमा विलियम जोसले गोल गर्दै सोसिडाडलाई पहिले अग्रता दिलाएका थिए। त्यसको ६ मिनेटपछि नै मेसीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
बार्सिलोनाका मेसी, सुवारेज र नेमारको जोडी मैदान उत्रे पनि गोल थप्न सकेन र खेल १-१ को बराबरीमा सकियो।
बराबरीपछि १३ खेलबाट २७ अंक जोडेको बार्सिलोना सेभियालाई पछि पार्दै दोस्रो स्थानमा उक्लेको छ। २७ अंक नै रहेको सेभिया गोल भिन्नतामा तेस्रो स्थानमा झरेको छ।
अर्को खेलमा एथ्लेटिको मड्रिड ओसासुनालाई ३-० ले पराजित गर्दै चौथो स्थानमा उक्लेको छ। १२ औं मिनेटमै प्राप्त पेनाल्टीमा रोवर्टो टोरेस गोल गर्न चुकेपछि ओसासुनाले अग्रता लिने मौका गुमाएको खेलमा एथ्लेटिकोका लागि डिएगो गोडिन र केभिन गमेइरोले पहिलो हाफमा गोल गरेका थिए।
यानिक कारास्कोले खेलको अन्तिम मिनेटमा एथ्लेटिकोका लागि तेस्रो गोल गरे। जितपछि एथ्लेटिकोको १३ खेलबाट २४ अंक भएको छ।
बार्सिलोनासँग बराबरी खेलेको सोसिडाड पनि २३ अंक जोड्दै पाँचौ स्थानमा उक्लेको छ।
अलाभेजसँग २-० ले पराजित भएपछि भियारियाल भने छैटौ स्थानमा झरेको छ। भियारियालको १३ खेलबाट २२ अंक छ। अन्य खेलमा सेल्टाभिगोले ग्रानाडालाई ३-१ ले हरायो।