
लिग लिडर युभेन्ट्सले इटालियन सिरी मा सिजनको तेस्रो हार बेहोरेको छ। जिओभानी सिमीओनीले दुई गोल गरेपछि युभेन्ट्स जेनेओसँग ३-१ ले पराजित भएको हो।
घरेलु मैदानमा खेलको तेस्रो मिनेटमा जिओभनीले गोल गर्दै जेनेओलाई अग्रता दिलाए। १३ औं मिनेटमा जिओभानीले व्यक्तिगत दोस्रो गोल गरेसँगै जेनेओले अग्रता दोब्बर पार्यो। जिओभानी वर्तमान एथ्लेटिको मड्रिडका प्रशिक्षक तथा पूर्व अर्जेन्टाइन खेलाडी डिएगो सिमिओनीका छोरा हुन्।
२९ औं मिनेटमा युभेन्ट्सका एलेक्स सान्ड्रोले आत्मघाती गोल गरेपछि जेनेओले पहिलो हाफमै युभेन्ट्स विरुद्ध ३-० को अग्रता बनायो।
३ गोलले पछि परेको युभेन्ट्सले दोस्रो हाफमा एक गोल मात्र फर्काउन सक्यो। युभेन्ट्सका लागि ८२ औं मिनेटमा मिरालेम पिजानिकले सान्त्वना गोल फर्काए।
सिरी ए मा घरेलु मैदानमा अपराजित रहेपनि युभेन्ट्सले यस सिजनको ३ वटै पराजय अवे मैदानमा बेहोरेको हो। हारका बावजुद पछि १४ खेलबाट ३३ अंक रहेको युभेन्ट्स शीर्ष स्थानमा आसिन छ। यता जितपछि जेनेओ १९ अंक जोड्दै नवौं स्थानमा उक्लेको छ।
युभेन्ट्सको हारको फाइदा रोमाले पनि उठायो। एडेन जेकोको २ गोल मद्वतमा रोमा पेस्कारालाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा उक्लेको छ। १४ खेलबाट एसी मिलान समान २९ अंक जोडेको रोमाले मिलानलाई गोल भिन्नतामा पछि पारेको हो।
सिरी ए कै अन्य खेलमा लाजियोले पालेर्मोलाई १-० ले तथा एटलान्टाले बोलोग्नालाई २-० ले हरायो। समान २८ अंक जोडेका लाजियो र एटलान्टा क्रमश: चौथो र पाँचौं स्थानमा छन्।