पथरी (मोरङ) : ९२ वर्षको उमेरमा वृद्ध मानिस के गर्ला?
तपाईंलाई कसैले सोध्यो भने सहजै जवाफ दिनुहुन्छ- लौरोको साहारामा भित्रबाहिर गर्छ। अथवा छोरा वा नातिको साहारामा बाँचिरहेको हुन्छ।
तर उर्लाबारीका ९२ वर्षीय पदमबहादुर सुनामको विषयमा त्यस्तो जवाफ आए गलत हुन्छ। वृद्ध सुनाम एक अपवाद वृद्ध भएर ऊर्जाशील जीवन बाँचिरहेका छन्।
आफ्नो जीवनको उत्तरार्धमा दैनिक जीवनमा आइपर्ने घरायसी काम साइकल चढेरै उनी फत्ते गरिरहेका छन्।
उनी साइकल चढेर हाटबजार गर्छन्। २५ वर्षको उमेरमा साइकल चढेका हुन् उनले। घरमै आराम गरेर समय कटाउन, धार्मिक पुस्तक पढ्न र पारिवारिक भेटमा मात्र व्यस्त रहन उनलाई घरपरिवारले आग्रह गर्छन्, तर उनी मान्दैनन्। गाउँ वरपर हुने सभा सम्मेलनमा पुगिहाल्छन्।
यो उमेरमा साइकल कुदाएको देखेर जो कोही आश्चर्यचकित हुने गरेका छन्। 'घरमा बसिरह्यो भने खुट्टा दुख्छ, जिउ कट्कटी खान्छ त्यसैले साइकल कुदाउँछु,' उनी ढुक्कसाथ सुनाउँछन्।
सुनामका अनुसार साइकल कुदाएर डुल्यो भने वरपर के भइरहेको छ थाहा पनि हुन्छ। शरीर तन्दुरुस्त पनि।
सवारीसाधनको चाप उच्च हुँदै गएको अवस्थामा ९२ वर्षीय सुनाम साइकल र पदयात्रीका लागि अलग्गै सडक पेटी बन्नुपर्ने धारणा राख्छन्। 'सडक विस्तार भएको छैन। तर यातायातको साधन र जनसङ्ख्या बढेको बढ्यै छ,' उनले भने, 'यस्तो अवस्थामा हामीजस्ता पाका साइकलयात्रीलाई दुर्घटनाको जोखिम बढेको छ।'
भोजपुर खावा–३ मा जन्मिएका सुनाम २०३५ सालमा उर्लाबारी झरेका हुन्। सकुञ्जेल साइकल कुदाइरहने उनी बताउँछन्। 'साइकल मेरो साथी हो, नकुदाई बस्न सक्दिनँ,' आँटिला यी वृद्धले हालसम्म १२ वटा साइकल फेरिसकेका छन्।