- रमेश लम्साल
ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत हाल आइरहेको ८० मेगावाट विद्युत् बढाएर तत्काल थप ८० मेगावाट विद्युत् ल्याउन सो सवस्टेसन निर्माण सक्नैपर्ने बाध्यता छ।
भारतको मुजफ्फरपुरबाट जोडिएको चार सय केभिएको अन्तरदेशीय प्रसारण प्रणाली र त्यसैगरी ढल्केवरबाट खिम्तीसम्म जोडिने अर्को २२० केभिएको प्रसारण प्रणाली पनि सोही सवस्टेसनमा जोडिने भएकाले सो आयोजना महत्वपूर्ण मानिएको हो।
ढल्केबर हेटौँडा प्रसारण लाइन र ढल्केबर दुहबी प्रसारण लाइनको पनि मुख्य विन्दु पनि सोही सवस्टेसन हो। ती दुवै प्रसारण लाइन ४ सय केभिए क्षमताका छन्। धनुषा, महोत्तरी, सर्लाहीसम्म विद्युत् उपलब्ध गराइरहेको १३२ केभी क्षमताको प्रसारण लाइनसमेत सोही सवस्टेसनमा जोडिएको छ।
प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले सवस्टेसनको काम सम्पन्न हुने चरणमा पुगेको जानकारी दिए। काममा दृढ इच्छाशक्ति भयो भने दुई वर्ष लाग्ने काम चार महिनामा नै सम्पन्न गर्न सकिन्छ भन्ने उदाहरण नै सो परियोजना हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जामन्त्री जनार्दन शर्माको विशेष चासोका कारण सो आयोजना एक महिना ढिला गरेरै भए पनि सम्पन्न हुन लागेको हो। २०७२ सालमा सम्पन्न गर्नुपर्ने सो सवस्टेसन ठेकेदार कम्पनी र प्राधिकरणको उच्च नेतृत्वको लापर्बाहीका कारण तोकिएको समयमा पूरा हुन सकेको थिएन।
गत भदौमा ऊर्जामन्त्री शर्मासहितको टोलीले चार महिनाभित्र सवस्टेसनको काम सम्पन्न नभए ठेकेदारलाई कालोसूचीमा राखेर कारबाही गर्ने चेतावनी दिएपछि ठेकेदार सेन्ट्रल चाइना पावर ग्रिड इन्टरनेसनल इकोनोमिक कम्पनी (सिसिपिजी) ले तत्कालै काम सुरु गरेको थियो।
माथिल्लो मर्स्याङ्दी जलविद्युत् आयोजनामा काम गरिरहेका चिनियाँ र नेपाली गरी २ सयभन्दा बढी मजदुरलाई नियमित रुपमा परिचालन गरेपछि आयोजना सम्पन्न हुने चरणमा पुगेको प्रवक्ता अधिकारीको भनाइ छ।
परियोजनाको हाल सवस्टेसन रहने भवन, ठूला क्षमताको ट्रान्सफर्मर रहने ‘बेस’ तथा अन्य भौतिक संरचनासमेत पूरा भइसकेको छ। ट्रान्सफर्मर समेत निर्माणस्थलमा आइसकेको छ भने अन्य प्राविधिक उपकरणसमेत उपलब्ध भइसकेको छ।
प्रवक्ता अधिकारीले भौतिक संरचना पूरा भइसकेको अवस्थामा उपकरण जडानको कार्य अब छिट्टै सुरु हुने र हिउँदमा मागअनुसार विद्युत् उपलब्ध गराउन सकिने बताए। यस्तै आयोजनाको महत्वपूर्ण मानिएको अग्नि नियन्त्रण कक्ष, तथा कर्मचारी आवास भवन पनि बनिरहेको छ।
आयोजनाका प्रमुख रहनुभएका राधेशरण महतोले हरेक दिनको कार्यप्रगति ऊर्जा मन्त्री शर्मा र प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई उपलब्ध गराउने र कुनै समस्या परे तत्कालै समाधान गर्ने गरिएको छ।
आयोजनामा समय र लागत बढाउने प्रवृत्तिका कारण अधिकांश आयोजना समस्याको चक्रब्युहमा फसिरहेको अवस्थामा ढल्केबर सवस्टेसनको कामले भने गति लिएको छ।
यस्तै सोही सवस्टेसनमा आउने विद्युत् काठमाडौँ ल्याउनका लागि महत्वपूर्ण मानिएको ढल्केबर–खिम्ती प्रसारण लाइनको कामसमेत अन्तिम चरणमा पुगेको छ। एकाध स्थानमा प्रसारण लाइनको तार कस्ने काम मात्रै बाँकी रहेको छ।रासस