
काठमाडौं : बाल्यकालदेखि अहिलेसम्मको घटना समेटेर गायक आनन्द कार्कीको 'अटोबायोग्राफी भिडियो' तयार भएको छ।
दिपेन्द्र केसीको निर्देशनमा बनेको भिडियोमा गायक कार्कीको पन्ध्रौं एल्बम विमोचनसम्म आइपुग्दाका अनुभव समेटिएको छ। 'अनुभव र सम्झनलायक क्षणहरुको सँगालोको रुपमा मेरो बायोग्राफी आएको छ,' गायक कार्कीले पहिलोपोस्टसँग भने, 'यसमा संघर्षको कथा पनि देखाउने प्रयास गरेको छु।'
स्टेज शो र देश विदेशका कार्यक्रमहरुमा सो भिडियो देखाउने योजना रहेको कार्कीले जानकारी दिएका छन्।
उनको नयाँ एल्बम ‘लभ यु फरेभर’ गत भरखरै मात्र सार्वजनिक भएको थियो। गायक प्रेमध्वज प्रधान, सङ्गीतकार दीपक जङ्गम, शक्ति वल्लभ, गीतकार कृष्णहरि बराल, दिनेश अधिकारी लगायतको उपस्थितिबीच उनको एल्बम र अटोबायोग्रफी सार्वजनिक गरिएको थियो।
गायन क्षेत्रमा संघर्ष गर्दाका दिनदेखि पछिल्लो एल्बम निकाल्दासम्म पनि समेट्न नसकेको विषयलाई ‘लभ यु फरेभर’मा समेट्ने कोसिस गरेको गायक कार्कीले बताए। एल्बममा १० गीत समावेश छन्।