
काठमाडौं : संविधानप्रति असन्तुष्ट रहँदै आएको मधेसी मोर्चासम्बद्ध संघीय गठबन्धनले संविधान संशोधन प्रस्ताव दर्ता गराउन सरकारलाई १५ दिने अल्टिमेटम आज सकिँदै छ।
विधेयक पेश हुन ढिलाइ भएपछि अब कसरी अघि बढ्ने भन्ने विषयमा संघीय समाजवादी फोरमको कार्यालय तीनकुनेमा गठबन्धनको बैठक जारी छ।
गठबन्धनले कात्तिक २९ गते संविधान संशोधन विधेयक पेश गर्नका लागि सरकारलाई अल्टिमेटम दिएको थियो। आफूहरुसँग भएका सहमतिअनुरुप संविधान संशोधन प्रस्ताव दर्ता गर्नुपर्ने माग राख्दै आएको गठबन्धनले सो समयसीमाभित्र विधेयक पेश नभए आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको थियो।
संशोधनमा विवादित विषयमा आजैमात्र नेपाली कांग्रेसको पदाधिकारीहरुको बैठक बसेको थियो। नेकपा माओवादी केन्द्रले पनि ३ बजे दिउँसो पोलिटब्युरो बैठक बोलाएको छ।