काठमाडौं : संविधान संशोधन विधेयक पेश गर्न सरकारलाई दिएको अल्टिमेटम सकिँदै गर्दा बसेको मधेसी मोर्चासम्बद्ध संघीय गठबन्धले ठोस निर्णय गर्न सकेन।
विधेयक पेश हुन ढिलाइ भएपछि अब कसरी अघि बढ्ने भन्ने विषयमा संघीय समाजवादी फोरमको कार्यालय तीनकुनेमा गठबन्धनको बैठक बसेको थियो। बैठकपछि नेताहरुले अन्तिम दिन पनि विधेयक दर्ता हुने बताएका छन्। '१५ दिनको अल्टिमेटम सकिने आज रातको १२ बजेसम्म हो,' सद्भावना पार्टीका नेता मनीष सुमनले भने, 'भोलि नै पेश भए पनि हामी कुर्न सक्छौं।' सरकारले विधेयक तयार गर्दा आफूहरुसँग छलफल नै नगरेको उनले बताए।
विधेयक पेश भएपछि त्यसको 'गुणदोष'का आधारमा गठबन्धनले निर्णय लिने पनि नेताहरुको भनाइ छ।
संविधानप्रति असन्तुष्ट रहँदै आएको गठबन्धनले संविधान संशोधन विधेयक दर्ताका लागि सरकारलाई १५ दिने समयसीमा तोकेको थियो। सो समय आज सकिँदै छ।
संशोधनमा विवादित विषयमा आजैमात्र बसेको कांग्रेस पदाधिकारीहरुको बैठकले अन्य दलसँग पनि छलफल गरी विधेयक अघि बढाउनेबारे निर्णय गरेको थियो।