PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

जल पर्यटनको प्रवर्द्धनका लागि हिमालयन ह्वाइटवाटर च्यालेन्ज कायकिङ



पहिलोपोस्ट

पोखरा : जल पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आजदेखि पोखरास्थित उपल्लो सेती नदीमा अन्तर्राष्ट्रिय स्तरको हिमालयन ह्वाइटवाटर च्यालेन्ज कायकिङ प्रतियोगिता सुरु भएको छ।
 
नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) को आयोजनामा सुरु यो प्रतियोगिता पोखरामा पहिलोपटक आयोजना गरिएको नाराका केन्द्रीय अध्यक्ष चन्द्रबहादुर दाहालले जानकारी दिए।
 
नाराद्वारा यसअघि १४ वटा संस्करण भोटेकोसी र त्रिशूली नदीमा आयोजना गरिएपनि १५औँ संस्करण भने पोखरामा आयोजना गरिएको उनले बताए। 'प्रतियोगितामा १६ देशका ९२ जनाको सहभागिता रहेको छ', अध्यक्ष दाहालले भने, 'विदेशी राष्ट्रका ३७ जना रहेका छन्, जसमध्ये अमेरिकाका प्रतियोगीको सङ्ख्या बढी छ।'
 
उपल्लो सेती नदीको मर्दीघाटमा प्रतियोगिता गरिएको नाराका महासचिव शेखरबहादुर थापाले जानकारी जनाए। नेपालमा जल पर्यटनको विकासका लागि यस किसिमका प्रतियोगिता उपयोगी बन्ने बताउँदै उनले प्रतियोगिताले जल पर्यटनका लागि विदेशी पर्यटकलाई नेपालमा आकर्षित गर्ने विश्वास लिइएको बताए।
 
र्‌याफ्टिङ एवम् कायकिङका लागि विश्वका प्रमुख १० नदीमध्ये नेपालका तीनवटा नदी सुनकोसी पहिलो स्थानमा, कर्णाली पाँचौँ स्थानमा र भोटेकोसी सातौँ स्थानमा पर्ने अध्यक्ष दाहालले जानकारी दिए।
प्रतियोगिता तीन दिनसम्म चल्ने छ। रासस
(फोटो : मिलन तिवारीको फेसबुकबाट)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell