
काठमाडौँ : सुडानको अशान्त डार्फर क्षेत्रमा बन्दूकधारीहरुले दुई नेपाली र एक सुडानी नागरिकलाई अपहरण गरी अज्ञात स्थलमा लगेका छन्।
वेस्ट डार्फर सरकारका प्रवक्ता अब्दल्लाह गर अल नाबीलाई उद्धृत गर्दै रोयटर्सले जनाए अनुसार संयुक्त राष्ट्रसंघको शरणार्थी मामिलामा काम गर्ने एजेन्सी (युएनएचसिआर) का कर्मचारीलाई अज्ञात बन्दूकधारीहरुले अपहरण गरेका हुन्।
उनीहरुलाई आइतबारै अपहरण गरिएको भए पनि समाचार भने सोमबार मात्रै सार्वजनिक भएको हो।
एएफपीका अनुसार प्रहरीले अपहरणकारीहरुको खोजी गर्दैछ।
कसले गर्यो अपहरण?
अपहरण कसले गर्यो खुलेको छैन। तर त्यस क्षेत्रमा राष्ट्रसंघको उपस्थिति नचाहने समूहले यसो गरेको हुनसक्ने देखिएको छ। माग्दी मासारा नामबाट ट्विट गर्नेले युएनएचसिआरमा काम गर्ने दुई गोरा र उनीहरुको ड्राइभरलाई दिउँसो अपहरण गरेको लेखेका छन्।डार्फर सन् २००३ देखि अशान्त छ। विद्रोही समूहले राष्ट्रपति ओमर अल बसिरविरुद्ध सशस्त्र विद्रोह गरेपछि त्यसलाई दबाउने प्रयासका क्रममा सो क्षेत्रमा हिंसा प्रतिहिंसा चर्किएको थियो।#Darandoka:-
— Magdi Masaraa (@MMasaraa) November 27, 2016
Two white men and their Driver whom are working with the UNHCR has been abducted this afternoon,
युद्ध अपराध र नरसंहारका विषयमा बसिरलाई अन्तर्राष्ट्रिय अदालतले खोजिरहेको छ। तर यी आरोप बसिर अस्वीकार गर्छन्।
सुडानले डार्फरको द्वन्द्व अन्त्य भइसकेको दावी गर्दै त्यहाँ रहेका राष्ट्रसंघीय शान्ति सैनिकहरु फर्काउनु पर्ने बताउँदै आएको छ।
सुडानको शान्ति रक्षक मिसन (अनअमिड) मा नेपाली सेनाबाट हाल ३६५ जना शान्तिरक्षक खटिएका छन्। गएको जनवरी २४ मा शान्ति रक्षक मिसनमा नै खटिएका नेपाली सेनाका ब्रिग्रेडियर जनरल भरतप्रसाद सिंहको मृत्यु भएको थियो।
अहिले अपहरणमा परेका नेपाली भने शान्ति रक्षक मिसनमा नभई युएनएचसिआरमा कार्यरत कर्मचारी हुन्। उनीहरुको पहिचान भने खुल्न सकेको छैन।
यस विषयमा बुझ्न परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीसँग सोमबार अपराह्न सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्। प्रवक्ता भरतराज पौड्यालको मोबाइल अफ थियो भने सहायक प्रवक्ता सुधीर भट्टराईले मोबाइल उठाएनन्।