PahiloPost

Jan 3, 2025 | १९ पुष २०८१

बाबुराम भट्टराई र उपेन्द्र यादव एक हुँदैछन्? यस्तो छ पार्टी एकताबारे भट्टराईको जवाफ



मनोज सत्याल

बाबुराम भट्टराई र उपेन्द्र यादव एक हुँदैछन्? यस्तो छ पार्टी एकताबारे भट्टराईको जवाफ

काठमाडौँ : केही दिनदेखि राजनीतिक बजारमा बाबुराम भट्टराई र उपेन्द्र यादवको पार्टी एकीकरण हुने चर्चा व्‍यापक छ। 

सोमबार दुवै पार्टीका अध्यक्षको हस्ताक्षरसहितको विज्ञप्तिले यो चर्चालाई थप बल दियो। विज्ञप्तिमा 'राष्ट्रिय मुद्दा सम्बोधन नभई गरिने संविधान संशोधन अस्वीकार्य छ' भनिएको छ। 

तत्कालीन एमाओवादीबाट अलग भए लगत्तै नयाँ शक्ति निर्माण अभियानका लागि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रशिक्षण सत्र चलाए। प्रशिक्षण सत्रको उद्घाटनमा भट्टराईका निम्तालु मध्ये एक थिए उपेन्द्र यादव। तिनै उपेन्द्र यादव अध्यक्ष रहेको संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच यतिबेला एकताको चर्चा चलेको हो। 

के चर्चा भएसरह दुई पार्टी एकताको तयारी भइरहेको हो? पहिलोपोस्टले एकताको विषयमा राखेको जिज्ञासामा नयाँ शक्ति नेपालका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले कुराकानी भइरहेको स्वीकारे। 

‘समान धारणा रहने शक्तिहरुको बीचमा बृहत राजनीतिक ध्रुवीकरण गर्नुपर्ने’ आफूहरुको मान्यता रहेको भन्दै विभिन्न पक्षसँग कुराकानी भइराखेको तर टुङ्गोमा पुगिनसकेको जानकारी दिए। 

एकताको विषयमै कुराकानी भैराखेको हो उपेन्द्र यादवहरुसँग भनी सोधिएको प्रश्नको जवाफमा उनले भने, ‘हाम्रो उहाँहरुसँग पनि अरुसँग पनि (एकताको) कुरा भैराखेको छ। सबैभन्दा पहिला यो संशोधनको विषय हल हुनुपर्छ भन्ने हाम्रो धारणा हो। त्यसपछि मात्र त्यो कुरा अगाडि बढाउनु उपयुक्त हुन्छ। अहिले अलिक बेला भएको छैन।‘ 

संविधानको स्वीकार्यकता र कार्यान्वयनका लागि भनेर दुई दलले राखेको समान धारणाको विषयमा प्रश्न राख्दा उनले भने, ‘त्यो भनेको पहिलो संविधानसभाको राज्य पुर्नसंरचना समिति र राज्य पुर्नसंरचना आयोगको प्रतिवेदन जुन हो त्यो नै सर्वमान्य हो। संघीयता सम्बन्धमा जुन विषय अहिले उठेका छन् राज्यको नामाङ्कन सीमाङ्कन भाषा संख्या र अधिकारको बाँडफाँडका विषयमा यी सबै विषय ती दुई प्रतिवेदनमा उल्लेख छन्। त्यसलाइ आधार मानेर सहमतिको आधारमा टुङ्ग्याउनुपर्छ भन्ने हाम्रो धारणा हो।‘ 

त्यसो हुँदा त दश प्रदेश हुने भयो। जुन विषय उपेन्द्र यादवले पनि उठाउँदै आउनु भएको छ। तपाँइहरु पनि दश प्रदेश हुनुपर्छ भन्ने धारणा हो भनी सोधिएको प्रश्नको जवाफमा उनले भने, ‘पहिचानका पाँच आधार र सामर्थ्यको चार आधार भन्ने मूल सिद्धान्त हो। अनि एक प्रतिशत भन्दा बढी भाषा र जनसंख्या भएका र ऐतिहासिक थात थलोको निरन्तरता रहेका समुदायलाइ स्वायत्त प्रदेश दिने भन्ने त्यो प्रतिवेदन र आयोगको सिफारिस हो। त्यसको आधारित भएर जानुपर्छ। तर सम्झौता गर्ने भएपछि ठाउँ ठाउँमा लेनदेन हुनसक्छ तर आधार त्यो हुनुपर्छ भन्ने नै हाम्रो धारणा हो।‘ 

संविधान घोषणापछि तराईका जिल्लाहरुको भ्रमण गरेका भट्टराईले तराईको शक्ति र पहाडको जनजाति आदिवासी शक्तिलाई समेट्नुपर्ने धारणा राखेका थिए। भट्टराईले १४ बैशाखमा एउटा अन्तर्क्रियामा भनेका थिए - 'मधेसमा जुन प्रकारको शक्ति छ, त्यसमा आदिवासी जनजाति र खसआर्यलाई पनि समेट्नुपर्छ। खसआर्य, आदिवासी, जनजाति र थारु-मधेसीकै समग्रतामा नेपाल राज्यको निर्माण भएको हो। नेपालको राष्ट्रियता मजुबत बनाउनका लागि यी समुदाय पुन: एकै ठाउँ उभिनु आवश्यक छ।'

त्यसो त पहाडका जनजातिहरुको धार बोक्ने संघीय समाजवादी पार्टीसँग एकता गरेका यादवले पनि आफ्नो पार्टी मधेसकेन्द्रित भन्न रुचाउँदैनन्। पहिलोपोस्टसँग २८ भदौमा भएको कुराकानीमा यादवले भनेका थिए - हामी मधेसको पार्टी हैन, स्वरुप बदलिसक्यौं। हाम्रो पार्टी न मधेसवादी हो, न मधेसमा मात्र छ। हामी हिमालमा पनि छौं, पहाडमा पनि छौं र मधेसमा पनि छौं। यहाँहरुले बुझेर धारणा परिवर्तन गरिदिनुहोला।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell