संविधान संशोधनको विषयले अहिले नेपाली राजनीति एक किसिमले डेडलकको अवस्थामा छ। प्रमुख प्रतिपक्षी दल एमालेको विरोध र मधेसकेन्द्रित दलहरुको असन्तुष्टिका बीच सरकारले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने तयारी गएको सातादेखि नै गरे पनि सफल हुन सकेको छैन। माओवादीबाट अलग्गिएर नयाँ शक्ति पार्टी गठन गरेका बाबुराम भट्टराईले संविधान संशोधनको विषयमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग सोमबार संयुक्त विज्ञप्ति निकाले। यादवको दलसित एकता हुने चर्चा र संविधान संशोधनका विषयमा पहिलोपोस्टका लागि मनोज सत्यालले नयाँ शक्ति नेपालका अध्यक्ष बाबुराम भट्टराईसँग गरेको कुराकानी :
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँग तपाइँहरुको पार्टीको एकता हुँदैछ भन्ने सुनिन्छ। तपाईँहरुले संयुक्त विज्ञप्ति पनि जारी गर्नुभयो। तयारी कस्तो छ?
अहिले यो राजनीतिक समस्या समाधान हुनुपर्छ भन्नेमा हाम्रो जोड छ। आन्दोलनकारी शक्तिहरुलाई समेटेर संविधान संशोधन गरौँ र यो राजनीतिक प्रक्रिया र संक्रमणकाललाई टुङ्गोमा लगाउँ। त्यसपछि विकास र समृद्धिको दिशामा जाउँ भन्ने हाम्रो कार्यदिशा हो। यसमा समान धारणा रहने शक्तिहरुको बीचमा बृहत राजनीतिक ध्रुविकरण गर्नुपर्छ भन्ने हाम्रो भनाई हो। हाम्रो विभिन्न पक्षसँग कुराकानी भइराखेको छ। तर टुङ्गोमा पुगिसकेका छैनौँ। तर कुराकानी भइराखेको छ।एकताको विषयमै कुराकानी भैराखेको हो उपेन्द्र यादवहरुसँग?
हाम्रो उहाँहरुसँग पनि अरुसँग पनि कुरा (एकताको) भइराखेको छ। सबैभन्दा पहिला यो संशोधनको विषय हल हुनुपर्छ भन्ने हाम्रो धारणा हो। त्यसपछि मात्र त्यो कुरा अगाडि बढाउनु उपयुक्त हुन्छ। अहिले अलिक बेला भएको छैन।संविधानको स्वीकार्यता र कार्यान्वयनका लागि भनेर दुई दलले समान धारणा राख्नुभयो। यसको लागि गर्नुपर्ने के हो?
पहिलो संविधानसभाको राज्य पुनर्संरचना समिति र राज्य पुनर्संरचना आयोगको प्रतिवेदन जुन हो त्यो नै सर्वमान्य हो। संघीयता सम्बन्धमा जुन विषय अहिले उठेका छन् राज्यको नामाङ्कन, सीमाङ्कन, भाषा, संख्या र अधिकारको बाँडफाँट यी सबै विषय ती दुई प्रतिवेदनमा उल्लेख छन्। त्यसलाई आधार मानेर सहमतिको आधारमा टुङ्ग्याउनुपर्छ भन्ने हाम्रो धारणा हो।त्यसो हुँदा त १० प्रदेश हुने भयो। जुन विषय उपेन्द्र यादवले पनि उठाउँदै आउनु भएको छ। तपाइँहरुको पनि १० प्रदेश हुनुपर्छ भन्ने धारणा हो?
पहिचानका पाँच आधार र सामर्थ्यको चार आधार भन्ने मूल सिद्धान्त हो। अनि एक प्रतिशतभन्दा बढी भाषा र जनसंख्या भएका र ऐतिहासिक थातथलोको निरन्तरता रहेका समुदायलाई स्वायत्त प्रदेश दिने भन्ने त्यो प्रतिवेदन र आयोगको सिफारिश हो। त्यसमा आधारित भएर जानुपर्छ। तर सम्झौता गर्ने भएपछि ठाउँ ठाउँमा लेनदेन हुनसक्छ तर आधार त्यो हुनुपर्छ भन्ने नै हाम्रो धारणा हो।