PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

मानव तस्करको निसानामा बालबालिका, कहाँ गायब हुन्छन् ६० प्रतिशत?



सविन ढकाल

मानव तस्करको निसानामा बालबालिका, कहाँ गायब हुन्छन् ६० प्रतिशत?

काठमाडौं : बालबालिका हराएको सूचना फोटोसहित अखबारमा छापिने क्रम रोकिएको छैन। रेडियोमा पनि यस्तो सूचना प्रवाह भइरहेकै छ। हराएका मध्ये ४० प्रतिशत मात्र फेला पर्ने गरेका छन्। आखिर कहाँ बेपत्ता भइरहेका छन् त ६० प्रतिशत बालबालिका?
---
गाडीमा राखेर भारत लैजाँदै गरेको अवस्थामा मुगु प्रहरीले ९६ जनालाई उद्धार गर्‍यो। उद्धार गरिएका मध्ये २४ जना १६ वर्षमुनिका बालबालिका थिए। उनीसँगै ३० वर्षका पुरन मगरलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनी बालबालिकालाई भारत लैजाने नाइके थिए।
 
गएको आइतबारको यो घटनाबाटै बुझ्न सकिन्छ- बालबालिकाको तस्करी अझै रोकिएको छैन।
 
भारतको इँटाभट्टामा काम लगाइदिने र राम्रो स्कुलमा पढाइदिने भन्दै मगरले बालकालिकाको तस्करी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उद्धार गरिएका बालबालिका कक्षा पाँचसम्म पढ्दै गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको मुगु जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) शारदाप्रसाद चौधरीले बताएका छन्।
 

हराएका फेला पार्न चुनौती

बालबालिका तस्करीलाई कसरी रोक्ने? प्रहरीका साथै बालबालिकाको संरक्षणमा काम गर्दै आएका संस्थाहरुका लागि चुनौती बनेको छ। उनीहरु हराएको भन्दै उजुरी गर्न आउने अभिभावकहरु प्रहरीकहाँ आइरहेकै छन्।
 
आर्थिक वर्ष २०६९/७० मा १४ सय ५३ जना बालबालिका हराए, ८ सय २३ मात्रै भेटिए। आव २०७०/७१ मा उजुरी दिनेको संख्या ८ सय ३७ मात्र थियो। उजुरीको संख्या कम भए पनि बालबालिका भने त्यो वर्ष ४ सय ६३ जना फेला परे।
 
आव २०७१/७२ मा आइपुग्दा हराउने बालबालिकाको संख्यामा कमी आयो। देशभरबाट ७ सय ८६ जना बालबालिका हराए। ३ सय ९ जना फेला परे पनि अझै ४ सय ७७ जना बेपत्ता नै छन्।
 
आर्थिक वर्ष २०७२/७३ मा मात्र देशभरबाट १५ सय २ बालबालिका हराएको उजुरी पर्‍यो। तीमध्ये ४ सय ८ जना मात्र फेला गरे। एक हजार ९४ बालबालिकाको अवस्था अज्ञात छ।

चार वर्षयताको तथ्यांकले नै जनाउँछ- प्रहरीकहाँ परेका उजुरीमध्ये ४० प्रतिशत बालबालिका मात्र फेला पर्ने गरेका छन्।
 
चालू आर्थिक वर्षको यो अवधिमा दैनिक २० देखि २५ वटा उजुरी आउने गरेको बालबालिका खोजतलास समन्वय केन्द्रका कार्यक्रम सहायक सुमन पण्डितले बताए।
 

महाभूकम्पको मौकामा तस्करी

२०७२ वैशाख (भूकम्पको समय) देखि चैत महिनासम्म ३ सय ८ बालबालिकाको ओसारपसार गरिएको घटना सार्वजनिक भयो। यसमा केन्द्रीय बालकल्याण समिति, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय, जिल्ला बालकल्याण समिति, बाल हेल्पलाइन १०९८, बालबालिका खोजतलास केन्द्र १०४, गैरसरकारी संस्थाहरू लगायत विभिन्न निकायहरूले उद्धारका लागि पहल पनि गरे।
 
महिनाका आधारमा विश्लेषण गर्दा वर्षभरिमा ओसारपसार गरिएका कुल बालबालिकामध्ये २ सय ७० जना अर्थात् ८८ प्रतिशतलाई भूकम्प लगत्तैका चार महिनाको अवधिमा ओसारपसार गरिएको देखिन्छ। बाँकी ८ महिनामा ३८ जना १२ प्रतिशत बालबालिकाको ओसारपसार भएको देखिन्छ।
 
भूकम्पलाई बहाना बनाई ९० प्रतिशत बालबालिकाको ओसारपसार गरेको पाइएको छ भने अन्य कारणले १० प्रतिशत बालबालिकाको ओसारपसार हुने गरेको छ। ओसारपसार भएका ३ सय ८ जना बालबालिकामध्ये २ सय ७७ जना अर्थात् ९० प्रतिशत आन्तरिक र ३१ जना अर्थात् १० प्रतिशत सीमापार ओसारपसारको सिकार हुने गरेको ती संस्थाहरुको तथ्यांकले उल्लेख गरेको छ।
 
ओसारपसारको सिकार हुने बालबालिका ४ वर्षदेखि १८ वर्ष उमेर समूहका रहेका छन्। बालिकाको तुलनामा बालकको संख्या भने १२ प्रतिशत बढी छ। (प्रतीकात्मक फोटो)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell