
रोल्पा : हाल कायम ५ नम्बर प्रदेशबाट रोल्पा, प्यूठान लगायत पहाडी जिल्ला छुट्याउन लागेको भन्दै बेग्लाबेग्लै आन्दोलन गरिरहेका जिल्लाबासीहरु आजदेखि भने संयुक्त आन्दोलनमा उत्रने भएका छन्।
प्यूठानको भिङ्ग्रीमा सोमबार बसेको रोल्पा र प्यूठानका राजनीतिक दल र नागरिक समाजका प्रतिनिधि संलग्न सर्वदलीय, सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले प्यूठानका पूर्व सांसद मुक्तिप्रसाद शर्माको संयोजकत्वमा २३ सदस्यीय संयुक्त सङ्घर्ष समिति समेत गठन गरेको छ। उक्त समितिमा दुवै जिल्लाका राजनीतिक दलका प्रमुख, नेपाल पत्रकार महासङ्घ, उद्योग वाणिज्य सङ्घ र गैरसरकारी संस्था महासङ्घका अध्यक्ष सदस्य रहेका छन्।
संयुक्त विज्ञप्तिमा ५ नम्बर प्रदेशबाट रोल्पा र प्यूठान छुट्याउने कार्य कदापि स्वीकार्य नहुने उल्लेख गरिएको छ। जनताको भावनाविपरीत जबर्जस्ती गर्न खोजिए प्रतिरोधात्मक आन्दोलन गरिने उनीहरुको चेतावनी छ।
विरोधस्वरुप दुवै जिल्लाको आयोजनामा बिहीबार रोल्पा र प्यूठानको सीमा क्षेत्र चतुरभुजमा बृहत् खबरदारी सभा गरिन लागेको पत्रकार महासंघ रोल्पाका अध्यक्ष तथा संयुक्त सङ्घर्ष समितिका सदस्य सचिव महेश न्यौपानेले जानकारी दिए। रासस