PahiloPost

Sep 21, 2026 | ५ असोज २०८३

अन्तर्राष्ट्रिय पदक विजेतालाई ४ महिनाको प्रोत्साहन भत्ता प्रदान



पहिलोपोस्ट

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् राखेपले दक्षिण एसियाली खेलकुदमा स्वर्ण तथा एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई प्रोत्साहन भत्ता स्वरुप मासिक पाँच हजार रुपैयाँ प्रदान गरेको छ। 

राखेपले सोमबार सागका ८५ स्वर्ण विजेता र एसियाली खेलकुदका ५ पदक विजेतालाई चार महिनाको एकमुष्ट २१ लाख ८० हजार रकम वितरण गरेको हो। हाल स्वदेशमा रहेका खेलाडीलाई मात्र उक्त भत्ता प्रदान गरिएको हो।

राखेपले मृत्यु भइसकेका बक्सरद्वय दलबहादुर राना मगर, पुष्करध्वज शाही र पौडी खेलाडी चित्रबहाुदर गुरुङको हकमा भने मासिक पाँच हजार रुपैयाँको दरले २० महिनाको एकमुष्ठ रकम परिवारलाई प्रदान गर्ने निर्णय गरेको छ।

यसैगरी, सागमा एकभन्दा बढी स्वर्ण वा एसियालीमा एकभन्दा बढी पदक जित्ने सात खेलाडीलाई मासिक प्रति पदक पाँच हजार रुपियाँ प्रदान गरेको छ। यस्तो उपलब्धी हासिल गर्नेमा धावक बैकुण्ठ मानन्धर, फुटबलका राजुकाजी शाक्य, तेक्वान्दोका दीपक विष्ट, करातेका दीपक श्रेष्ठ, तेक्वान्दोकी संगिना वैद्य, बक्सिङका चित्रबहादुर गुरुङ र तेक्वान्दोकी आयशा शाक्य छन्। 

त्यस अनुसार दीपक विष्टले सबैभन्दा बढी सागको ४ स्वर्णका लागि २० हजार र एसियालीको २ कांस्यका लागि १० हजार रुपैयाँ गरी जम्मा ३० हजार रुपैयाँ प्राप्त गरे।

युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीपाली, राखेपका सदस्य–सचिव केशवकुमार विष्ट र खेलकुद मन्त्रालयका सचिव महेशकुमार दाहालले पदक विजेतालाई पुरस्कृत गरे। चालू आर्थिक वर्षको साउनदेखि कात्तिक महिनाको भत्ता खेलाडीलाई प्रदान गरिएको हो।
(फोटो : राखेप)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell