PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

भुमिबोलको निधनपछि थाइल्यान्डको मन्त्रिपरिषद्ले राजकुमारलाई नरेश बनाउने बाटो खोल्यो



पहिलोपोस्ट

भुमिबोलको निधनपछि थाइल्यान्डको मन्त्रिपरिषद्ले राजकुमारलाई नरेश बनाउने बाटो खोल्यो

थाइल्यान्ड : थाइल्यान्डको मन्त्रिपरिषदले युवराज महा भाजिरालोङकोर्नलाई नरेश बनाउन उनको नाम संसदमा प्रस्तुत गरेको छ। यसबाट युवराज भाजिरालोङकोर्नका लागि आफ्ना पिताको निधनपछि नरेश बन्ने बाटो खुला भएको छ।
 
ठूलो सम्मानका साथ बाँचेका नरेश भुमिबोल अदुल्यादेजको अक्टोबर १३ मा निधन भएको थियो। थाइल्यान्डलाई सात दशकसम्म शासन गरेका उनलाई विभाजित मुलुकमा एकताको खम्बाको रूपमा लिइन्थ्यो।
 
युवराज भाजिरालोङकोर्नले आफ्ना पिताको निधनपछि शोकमा रहेको अवस्थामा आफ्नो नाम नरेशको रूपमा घोषणा गर्ने काम रोक्न आग्रह गरेका थिए। मङ्गलबार मन्त्रिपरिषद्ले घोषणा गरेपछि स्वर्गीय नरेश भूमिबोलको उत्तराधिकारीका विषयमा आशङ्का हटेको छ।
 
थाइल्यान्डको राजगद्दी उत्तराधिकारीसम्बन्धी नियम गोप्य रहेको छ र उपप्रधानमन्त्री प्रावित वङसुवानले उत्तराधिकारीसम्बन्धी प्रक्रिया अनेकौँ चरणमा सम्पन्न हुने बताए। प्रक्रियाअनुसार संसदको सभामुखले युवराजलाई नरेश बन्न औपचारिक रूपमा निमन्त्रणा गर्नुपर्छ र यसपछि मात्र नरेशका विषयमा सार्वजनिक रूपमा घोषणा हुन सक्छ।
 
६४ वर्षीय युवराज भाजिरालोङकोर्नलाई चार दशकअगाडि नै नरेश भूमिबोल अदुल्यादेजको उत्तराधिकारीको रूपमा घोषणा गरिएको थियो।
 
उनी बढी समय मुलुकबाहिर बिताउँछन्। जर्मनीको दक्षिणी भागमा उनको सम्पत्ति छ। एक सैनिक स्रोतले युवराज हाल जर्मनीमै रहेको जानकारी दिएको छ।

औपचारिक रूपमा थाइल्यान्डमा नरेशको सीमित संवैधानिक अधिकार रहेको छ।रासस/एएफपी 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell