PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

१० हजार भारु बोकेर बाबुको उपचारमा हिँडेका पीडितको गुनासो- 'पैसा खोस्टा भइहाल्यो, म के गरौं?'



ऋषिकेश दाहाल

१० हजार भारु बोकेर बाबुको उपचारमा हिँडेका पीडितको गुनासो- 'पैसा खोस्टा भइहाल्यो, म के गरौं?'

दार्चुला : दार्चुला खरकडाका शिक्षक परमानन्द गिरी बाबुको उपचारका लागि सदरमुकाम झरेका छन् अहिले। ६:३० नभई उज्यालो नहुने गाउँबाट बिहान ५ बजे  टर्च बालेर उनी सदरमुकाम आएका हुन्। सदरमुकामबाट १८ कोस टाढा रहेको घरबाट हिँडेर महाकाली नदी पार हुनैपर्छ उनलाई।
 
जोखिमपूर्ण तुइनबाट महाकाली पार भएर भारतीय भूमि हुँदै गाडी चढेर उनी धार्चुला आए। धार्चुलाबाट फेरि महाकाली पार भएर आफ्नो सदरमुकाम खलङ्गा। भूगोलले ठगेको उनलाई यतिखेर यात्राको पीडाभन्दा पैसाको संकटले सताएको छ।
  
बाबुको उपचारका लागि यहाँसम्म जसोतसो आइपुगेका उनलाई अब पैसा व्यवस्थापनले हैरानी भएको छ। 'खल्तीमा ५ सय रुपैयाँमात्र थियो त्यसैले यहाँसम्मको यात्रा गरायो,' उनले सुनाए। उनीसँग १० हजार भारतीय रुपैयाँ छ जुन अहिले कागजमा परिणत भएको छ। 'पाँच/सात ठाउँमा प्रयास गरेँ, कतै पनि लिन मानेनन्,' गिरीले सुनाए।
 
५ सय र हजारका भारु नोटमा प्रतिबन्ध लागेपछि उनी अतालिएका छन्। सदरमुकाममा भेटिएका गिरीमात्र होइन धेरैसामु अहिले साथमा रहेको ५ सय र हजार दरका भारतीय नोट बेकामे बन्न पुगेको छ। उनी भन्छन्, 'हाम्रो गाउँमा सबैको घरमा यस्तै पैसा छन्।'
 
दार्चुलाका परमानन्दले ब्योहोरेको समस्या अहिले त्यहाँका हरेक नेपालीले भोगेका छन्। त्यसैले हतार हतार भारतीय नोट साट्ने होड नै चल्यो। 'कमिसन दिएर पनि मानिसहरुले भटाभट पैसा साटिहाले। अब खासै ठूला नोटको समस्या छैन,' बैतडी पाटनका धर्मबहादुर धामीले सुनाए। त्यसो त सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा भारतीय ५ सय र हजारका नोटहरु हुनु अनौठो होइन।
 
मौसमी खेतीकालागि जिल्लामा रहने बाहेक धेरैजसो भारतमा कामका लागि जाने भएकाले उनीहरुले फर्किँदा ल्याएका नोटहरु अहिले जोखिममा परेका हुन्। 'यहाँका मानिसले कति नै जोगाउन सक्ने हो र?,' धामी भन्छन्, 'धेरै बचत गर्नेले २५/३० हजार बचाएका होलान्। त्यो अब काम छैन। जतिसक्यो कमिसनमा साट्नु राम्रो।'
 

५ सयको नोटमा डेढ सय कमिसन

भारतको नोटबन्दीले तस्करीको नयाँ आयाम पनि देखिएको छ। बैतडीका धामीका अनुसार नोट भुसिने डरले मानिसहरुले कमिसनमा ५ सय र हजारका नोट साटे। बजार र सहर नजिक भएका ठाउँमा यस्ता एजेन्टहरु नै तयार भए।
 
बैतडीमा जस्तै भयो दार्चुलामा पनि। '५ सयको भारु साट्दा डेढसयसम्म कमिसन दिनुपर्ने भयो,' परमानन्दले भने, 'भारतमा गएर मजदुरी गरेर ल्याएको पैसा साट्दा समेत कमिसन दिनुपर्दा पहाडका दुखियाहरुलाई के भयो होला?'
 
सहर नजिक कमिसनमा नोट संकलन गर्ने र त्यसलाई भारतीय बैंकिङ नेटवर्कमा छिराउने गिरोह सक्रिय रह्यो पहाडी जिल्लामा। यसरी संकलन भएर रकम लिँदा पनि ठगिनेमा गरिबहरु नै रहे। 
  
त्यसो त भारतीय सीमामा नेपाली मुद्राको अवमूल्यन हुँदै आएको हो। १ सय ६० नेपालीको भारतीय मूल्य सय रुपैयाँ हुँदा हुँदै पनि झुलाघाट र धार्चुलामा १ हजार नेपाली रुपैयाँ लिएर जाने नेपालीले ६ सय भारुको मोलमात्र पाउदै आएका थिए। अहिले ठूला भारतीय मुद्राको मूल्य शून्य भएपछि नेपालीलाई थप तनाव सिर्जना गरेको छ।
 
असंगठित रुपमा काम गर्ने भएकाले नेपालीले कमाएका नगद बैंकिङ प्रणालीमा छिरेकै हुँदैन। त्यसैले यहाँका पहाडमा प्रतिबन्धित ५ सय र हजार रुपैयाँका नोट कति छन् भन्न सकिने अवस्था छैन।
 
जति थोरै संख्यामा ५ सय र हजारका नोट छन् त्यो साट्दा आउने/जाने खर्चसमेत उठ्न नसक्ने अवस्थाका गाउँहरु छन्। छरिएर रहेका यस्तो रकम 'भुस' हुने अवस्थामा छन्। 
 
'सबैभन्दा ठूलो समस्या त यहाँहरुको मानिसको बैंक खाता नै हुँदैन,' परमानन्दले भने, 'नेपालमा त बैंक खाता हुन्न भने भारतमा गएर मजदुरी गर्नेले कहाँबाट उता खाता खोल्नु?'
 

'भारतीयले नै दु:ख पाएका छन् नेपालीको के कुरा?'

सीमामा व्यवसाय गरिरहेका सुरेश थापा भारतमै समाधान हुन नसकेको मुद्रा व्यवस्थापनको विषय सजिलै सुल्टनेमा आशावादी छैनन्। उद्योग वाणिज्य संघ दार्चुलाका अध्यक्ष थापाले भने, 'नोटको समस्या भारतमै सुल्ट्याउन सकेका छैनन्। नेपालमा भन्दा उतै ठूलो छ समस्या।'
 
अर्का व्यवसायी केशव भट्ट पनि ५ सय र हजार अहिले भारतकै समस्या भएकाले नेपालको पहाडी जिल्लामा केही हुने अवस्था नरहेको सुनाउँछन्। भन्छन्, 'नेरु १ हजार लिएर जाँदा ६ सय भारु पाउथ्यौं तै पनि कसैले वास्ता गरेन अब यो समस्यालाई कसले समाधान गर्छ?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell