
काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै बेलुकाको मन्त्रिपरिषद् बैठकले संविधान संशोधनको प्रस्ताव पारित गर्ने बताएका छन्।
केन्द्रको आज बसेको पोलिटब्युरो बैठकमा संविधान संशोधनबारे जानकारी गराउँदै उनले यसका लागि अन्तिम तयारी भइरहेको बताए। विपक्षी एमाले लगायतका दल संशोधनका लागि तयार नभइरहेको अवस्थामा उनले राष्ट्रिय सहमतिको प्रयास जारी राख्ने र सबै पक्षलाई मिलाएर संविधानको सर्वस्वीकार्यता बढाउनेतर्फ सरकार लागिपरेको बताएका छन्।
मुलुकलाई अप्ठ्यारोमा पार्ने र संविधान कार्यान्वयन हुन नदिने प्रवृत्तिका विरुद्ध पार्टीले एक मतले प्रतिवाद गर्नुपर्ने भन्दै प्रधानमन्त्रीले बैठकमा सरकारमा रहेका सहयात्री दलसँग पनि औपचारिक तथा अनौपचारिक छलफल भएको उनको भनाइ छ।
‘बैठकमा अध्यक्षज्युले संविधान संशोधनबारे हिजो मात्रै राष्ट्रपति र अन्य दलसँग भएको प्रगतिबारे जानकारी गराउनुभयो। अब वातावरण सकारात्मक बनेको छ,' केन्द्रका नेता अग्निप्रसाद सापकोटाले भने।
मुलुकलाई लामो समयसम्म अड्काएर राख्न नसकिने भन्दै उनले छिट्टै निकास दिनेबारे पार्टी नेताहरुलाई अवगत गराएका थिए। बैठकमा अध्यक्ष प्रचण्डले पेस गरेको संविधान संशोधन, तीनमहिने पार्टी कार्ययोजना लगायत विषयमा छलफल भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्।