
थाइल्याण्डमा भइरहेको एसीसी महिला एसिया कप टी २० क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ।
मंगलबार भएको खेलमा नेपाली महिला टीम बंगलादेशी महिला टीमसँग ९२ रनको फराकिलो रन अन्तरले पराजित भएको हो।
बंगलादेशले दिएको १३४ रनको लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा ४१ रनमा अलआउट भयो।
लगातार तेस्रो खेलमा पनि नेपालको ब्याटिङ चल्न सकेन। पहिलो खेलमा नेपाल पाकिस्तान विरुद्ध ४७ तथा दोस्रो खेलमा श्रीलंका विरुद्ध २३ रनमा अलआउट भएको थियो।
दुवै खेलमा नेपालले पहिले ब्याटिङ गरेको थियो।
जारी प्रतियोगितामा पहिलो पटक नेपालले लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको हो।
बंगलादेश विरुद्ध नेपालका लागि ओपनर सिता मगरले सर्वाधिक १५ रन बनाइन्। १४ बल खेलेकी सिताले ३ चौका प्रहार गरिन्।
यस्तै इन्दु बर्माले एक चौका सहित ९ रन बनाइन् भने कप्तान रुबिना क्षेत्री ७ रन बनाएर आउट भइन्। यसबाहेक संगीता राई ४, निरा राजोपाध्याय २ तथा ज्योती पाण्डे र करुणा भण्डारी समान १ रनमा आउट भए।
बाँकी ४ खेलाडीले दोहोरो अंक छुन सकेनन्।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४ विकेट गुमाएर १३३ रन बनाएको हो।
बंगलोदशका लागि निगार सुल्तानाले सर्वाधिक ३९ तथा सन्जिदा इस्लामले ३५ रन बनाइन्। यस्तै शैला सर्मिनले १९ रनको योगदान गरिन्।
नेपालको तर्फबाट संगीता राईले ३ तथा कप्तान रुबिना क्षेत्री र सिता मगरले १/१ विकेट हात पारिन्।
(फोटो : रमण शिवाकोटी)