
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन दर्ता भएपछि अब निर्वाचनतिर प्रक्रिया अघि बढ्ने बताएका छन्।
बुधबार बिहान बालुवाटारमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का नेताहरुसँगको भेटमा प्रधानमन्त्रीले देश निर्वाचनतिर अघि बढेको बताए। ‘हिमाल, पहाड र तराईबीच सुदृढ एकता सरकारको प्राथमिकता हो। अहिले दर्ता भएको संशोधन प्रस्तावले राष्ट्रिय एकताको प्रतिनिधित्व गरेको छ,' उनले भने, 'हामीले राष्ट्रको अहित हुने कुरा कल्पना पनि गर्न सक्दैनौं।'
संविधान संशोधन प्रस्तावको विरोध गर्नु राष्ट्रिय एकता विरोधी हुने उनको भनाइ छ।
प्रधानमन्त्रीले संविधान संशोधन प्रस्ताव दर्ता भएपछि पनि सहमतिको प्रयास जारी राख्ने बताएका छन्। ‘एमाले पनि संशोधनको पक्षमा आउँछ, त्यसका लागि सरकारले सहमतिको प्रयास जारी राख्छ,' प्रधानमन्त्रीले भने।
भेटमा महिला नेताहरुले संवैधानिक प्रावधानबमोजिम राज्यका निकायहरुमा महिलाको उचित प्रतिनिधित्वका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।