
काठमाडौं : बेलायतको साहित्यिक संस्था नेपाली प्रतिभा प्रतिष्ठानले यस वर्षको ‘प्रतिभा सम्मान’ आख्यानकार भागीरथी श्रेष्ठलाई र ‘प्रतिभा पुरस्कार’ युवा गीतकार टीका चाम्लिङलाई दिने निर्णय गरेको छ।
फोकस्टोनमा बसेको बैठकले पुरस्कारबारे निर्णय गरेको प्रतिष्ठानका महासचिव मिजास तेम्बेले जानकारी दिए। प्रतिभा पुरस्कारको राशि नगद २० हजार र पुरस्कारको एक लाख रहेको छ।
२००५ असोज १२ गते गुल्मीमा जन्मिएकी आख्यानकार श्रेष्ठका मालती, यस्तो एउटा आकाश उपन्यास, क्रमशः, मोहदंश, विभ्रम, भूमिगत रातो गुलाफ लगायतका कथा तथा मेरा बाआमा संस्मरण कृतिहरू प्रकाशित छन्। यसैगरी २०३० माघ ४ गते खोटाङको नुनथलामा जन्मिएका चाम्लिङका मुन्धुम र मालिङ्गो, जूनको बस्ती, समयको रङ र सपनाको रङ गीतसङ्ग्रह प्रकाशित छन्। उनका दर्जनौं गीत संगीतबद्ध छन्। पछिल्लो समय चाम्लिङ किरात राई जातिको संस्कार तथा संस्कृतिका क्षेत्रमा समेत क्रियाशील रहेका छन्।
प्रतिष्ठानबाट यसअघि ईश्वर मानन्धर, अम्बर गुरुङ, जीबी लुगुन, भक्तराज आचार्य, डा. गोविन्दराज भट्टराई, बूँद राना, टेकवीर मुखिया र प्रद्युम्न श्रेष्ठ (सिक्किम) सम्मानित भइसकेका छन् भने नवीन विभास, कुवेर राई, श्रवण मुकारुङ, मोमिला जोशी, उपेन्द्र सुब्बा, राजकुमार दिक्पाल, भूपाल राई र बीबी अनुरागी पुरस्कृत भइसकेका छन्।