
प्रिमियर लिग क्लबद्वय लिभरपुल र हल सिटी इएफएल कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। इएफएल कप अन्तर्गत गएराति भएको क्वाटरफाइनलमा लिभरपुलले च्याम्पियनसिप क्लब लिड्स युनाइटेडलाई २-० ले पराजित गर्यो।
घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जिताउन डिभोक ओरिगी र बेन्जामिन उडवर्नले १/१ गोल गरे।वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेको बेन्जामिनले लिभरपुलका लागि सबैभन्दा कम उमेरमा गोल गर्ने रेकर्ड समेत कायम गरे।
वेल्सका यु १९ का खेलाडी बेन्जामिनले १७ वर्ष ४५ दिनको उमेरमा गोल गर्दै माइकल ओवेनको रेकर्ड तोडेका हुन्। गोल गरेसँगै ओवेनले ट्वीटर मार्फत बेन्जामिनलाई बधाई समेत दिएका छन्।
यस्तै अर्को क्वाटरफाइनलमा हल सिटीले न्युकासल युनाइटेडलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गरेको छ। निर्धारित समयमा दुवैतर्फबाट कुनै गोल नभएपछि थप गरिएको ३० मिनेटमा दुवै टीमले १-१ गोल गरेका थिए। ८९ औं मिनेटमा एमबोकानीले सिधै रातो कार्ड पाएपछि हल सिटीले अतिक्ति ३० मिनेट एक खेलाडी कम रहेर खेलेको थियो।
अतिरिक्त समयमको आठौं मिनेटमा न्युकासलका लागि मोहम्मेद डिएमले गोल गर्दै अग्रता दिलाएपनि त्यसको एक मिनेटपछि नै रोवर्ट स्नोडग्रासले बराबरी गोल फर्काए।
पेनाल्टी सुटआउटमा हलका लागि स्नोडग्राससँगै माइकल डवसन र टम हडलस्टोनले गोल गरे। न्युकासलका क्रिस्टियन अस्तु मात्र पेनाल्टीमा गोल गर्न सफल भए।
इएफएल कप अन्तर्गत आज दुई क्वाटरफाइनल खेल हुँदैछ। जसमा प्रिमियर लिग क्लबहरु आर्सनल र साउथह्याम्पटन तथा म्यानचेष्टर युनाइटेड र वेष्टहम भिड्दैछन्।