
काठमाडौं : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा रहेका आवासीय चिकित्सकहरु आजबाट आकस्मिक बाहेकका अन्य सेवामा संलग्न भएका छैनन्। आमरण अनसनमा रहेका डा. गोविन्द केसीको मागलाई सरकारले बेवास्त गरेको विरोधमा उनीहरु आन्दोलित बनेका हुन्।
नेशनल रेजिडेन्ट डक्टर्स एसोसिएशनको मंगलबार बसेको बैठकले बुधबारबाट आकस्मिक बाहेकका अन्य शैक्षिक गतिविधिमा संलग्न नहुने निर्णय गरेको हो। टिचिङ लगायत अन्य अस्पतालमा कार्यरत आवासीय चिसिकत्सकहरुलाई पनि ऐक्यबद्धता जनाउन एसोसिएशनले आग्रह गरेको छ। टिचिङमा ३ सयभन्दा बढी आवासीय चिकित्सक कार्यरत छन्।
डा. केसी विभिन्न १० बुँदे माग राख्दै १० औं पटकको आमरण अनसनमा छन्। आज अनसनको १८ औं दिन हो। १०औं पटकसम्म गरी उनी १०९ दिन अनसन बसिसकेका छन्। डा.केसीले आइओएमका डिन डा. केपी सिंह र त्रिवि उपकुलपति डा. तीर्थ खनियालाई बर्खास्त गर्न पनि माग गर्दै आएका छन्।
सरकारले उनीसँग वार्ता गर्न केही मंसिर ११ गते शिक्षा मन्त्रायका सचिव शान्तबहादुर श्रेष्ठ र स्वास्थ्य मन्त्रालयका सचिव डा. सेनेन्द्रराज उप्रेती रहेको वार्ता टोली गठन गरेको थियो। केसी पक्षधरसँग पटक पटक वार्ता गरे पनि ठोस निष्कर्ष आउन सकेको छैन।