
काठमाडौं : संघीय समाजवादी फोरमले संविधान संशोधन प्रस्ताव दर्ता गरेर सरकारले गम्भीर गल्ती गरेको जनाउँदै यसमा असन्तुष्टि व्यक्त गरेको छ
सरकारले दर्ता गरेको संविधान संशोधन विधेयकप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अध्यक्ष उपेन्द्र यादवले आज जारी गरेको विज्ञप्तिमा संशोधन विधेयकले मधेसी मोर्चा र संघीय गठबन्धनले उठाइएको कुनै पनि मागको पूर्णरुपले सम्बोधन नगरेको दाबी गरेका छन्।
'आदिवासी जनजाति, थारू, खस, मुस्लिम, महिला, दलित तथा मधेसमा भएका आन्दोलनको माग बमोजिम संविधान संशोधन प्रस्ताव दर्ता नगरेर सरकारले गम्भीर गल्ती गरेको हाम्रो ठहर छ,' विज्ञप्तिमा उल्लेख छ।
मधेसी मोर्चा र संघीय गठबन्धनले उठाएका पाँच जिल्ला झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरका विषयमा सम्बोधन नगरिएको र जातीय तथा सामुदायिक जनसंख्याको आधारमा समानुपातिक समावेशिकरण र राष्ट्रिय पहिचानको मानन्यताको चर्चासम्म नगरिएको यादवले उल्लेख गरेका छन्।
राष्ट्रियसभामा, अंगीकृत नागरिकता तथा भाषाका सवालमा पनि कुनै ठोस संशोधन प्रस्ताव नआएको उनले बताएका छन्। आन्दोलनरत पक्षहरूको असहमति हुँदाहुँदै जबरजस्ती ल्याइएकोले विधेयकलाई समर्थन गर्न नसकिने यादवले उल्लेख गरेका छन्।