PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

कतै बन्द, कतै शान्त : प्रदेश ५ बाट टुक्राइएका ६ जिल्लाको स्थिति कस्तो छ?



सविन ढकाल

कतै बन्द, कतै शान्त : प्रदेश ५ बाट टुक्राइएका ६ जिल्लाको स्थिति कस्तो छ?

काठमाडौँ : सरकारले मंगलबार राति संसदमा दर्ता गरेको संविधान संशोधन विधेयकमा प्रदेश ५ का ६ जिल्लालाई प्रदेश ४ मा सारिएको छ। सीमाङ्कन परिवर्तन गरिएका केही जिल्लाहरुमा आन्दोलन सुरु भएको छ भने केही जिल्लाको अवस्था सामान्य नै छ। रोल्पा र पाल्पाको अवस्था अहिले सामान्य नै छ। गुल्मी, प्युठान, अर्घाखाँचीमा भने बिहानैदेखि बजार, यातायात, शिक्षण संस्था बन्द गरेर विरोध गरिएको छ।

कुन जिल्लाको स्थिति कस्तो छ? 

रोल्पा  

यहाँको अवस्था अहिले सामान्य नै रहेको र कुनै विरोध, धर्ना, र्‍याली लगायतका कार्यक्रम नभएको रोल्पा जिल्ला प्रहरी कार्यालयका प्रमुख रामप्रसाद घर्तिमगरले पहिलोपोस्टलाई बताए। 


गुल्मी   

संविधान संशोधन प्रस्तावको विरोधमा गुल्मीमा बिहानैदेखि बन्द आह्वान गरिएको छ। विभिन्न राजनीतिक पार्टीहरुले आह्वान गरेको बन्दका कारण जिल्लाका बजार, यातायात, शिक्षण संस्था, कलकारखाना प्रभावित बनेका छन्। गुल्मी जिल्ला प्रहरी कार्यालयका एसपी भोला रावलका अनुसार आन्दोलन शान्तिपूर्ण छ। 

अर्घाखाँची  

अर्घाखाँचीमा पनि संविधान संशोधन विधेयक दर्ताको विरुद्धमा बजार बन्द गरिएको छ। अर्घाखाँची उद्योग वाणिज्य महासंघले अहिले बन्दको अगुवाइ गरिरेको छ। बन्दका कारण शिक्षा, यातायात, संघसस्था बन्द गराए पनि कुनै तोडफोड, आगजनीका घटना नभएको जिल्ला प्रहरी कार्यलय अर्घाखाचीका डिएसपी नवराजरत्न पौडेलले जानकारी दिएका छन्। 

पाल्पा

पाल्पामा पनि संविधान संशोधन विधेयकको प्रभाव परेको छैन। जिल्लाको अवस्था सामान्य नै छ। बिहानैदेखि बजार, यातायात, कलकारखाना, शिक्षण संस्था निर्वाध संचालनमा छन्। राजनीतिक दलहरुले आज दिउँसो १ बजेबाट बन्द गर्ने भनिए पनि यो समाचार तयार पार्दासम्म बन्दको कुनै जानकारी नआएको पाल्पा जिल्ला प्रहरी कार्यलयले जानकारी गराएको छ। 

प्युठान

प्रदेश नम्बर ४ मा पार्ने प्रस्ताव गरिएको प्युठान जिल्लामा बिहानैदेखि बन्दको आह्वान गरिएको छ। सीमाङ्कन परिमार्जनको विरुद्ध विभिन्न असन्तुष्ट दलहरुले बन्दको आह्वान गरेका हुन्। बिहानैदेखि बन्द गरिए पनि जिल्ला प्रहरी कार्यालयका प्रमुख रञ्जितसिह राठौरले अहिलेसम्म जिल्लामा शान्तिपूर्ण बन्द र विरोध भएको बताएका छन्। 

रुकुम

रुकुम जिल्लाको अवस्था पनि सामान्य नै छ। रुकुमको पूर्वी भाग प्रदेश नम्बर ५ बाट ४ मा राख्ने प्रस्ताव संविधान संधोनमा छ। तर अहिले यहाँ कुनै किसिमको विरोधको आवाज नउठेको जिल्ला प्रहरी कार्यालयका डिएसपी अंगुर जिसीले जानकारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell