PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

​कोपा डेल रे : रियल, एथ्लेटिको र सेभियाको शानदार जित, बार्सिलोना हर्कुलससँग बराबरीमा रोकियो



पहिलोपोस्ट

​कोपा डेल रे : रियल, एथ्लेटिको र सेभियाको शानदार जित, बार्सिलोना हर्कुलससँग बराबरीमा रोकियो

कोपा डेल रे फुटबल प्रतियोगितामा ला लिगाका क्लबहरु रियल मड्रिड, एथ्लेटिको मड्रिड, सेभिया, भियारियालले शानदार जित हात पार्दा बार्सिलोना भने हर्कुलससँग बराबरीमा रोकिएको छ।

मारियानो मेजियाले ह्याट्रिक गरेपछि रियलले घरेलु मैदानमा भएको अन्तिम ३२ को दोस्रो लेगको खेलमा लिओनेसालाई ६-१ ले हरायो। पहिलो लेगमा ७-१ को जित हात पारेको रियल समग्रमा १३-२ को जित हात पार्दै अन्तिम १६ मा प्रवेश गरेको छ। 

रियलको जितमा प्रशिक्षक जिनेदिन जिदानका छोरा एन्जो जिदानले पनि गोल गरे। अर्को गोल जेम्स रोड्रिगेजले गरे भने लिओनेसा र सेजार मोर्गाडो एक आत्मघाती गोल उपहार दिए। लिओनेसाका लागि येराय गोन्जालेजले सान्त्वना गोल फर्काए।

रियलको दोस्रो लेगको खेल खेले पनि अन्य क्लबहरुको भने यो पहिलो लेगको खेल हो।

रियलले शानदार जित हात पार्दा बार्सिलोना भने पहिलो लेगेको खेलमा हर्कुलससँग १-१ गोलको बराबरीमा रोकिएको छ। 

हर्कुलसले घरेलु मैदानमा डेविड मेइन्जको गोल मार्फत ५२ औं मिनेटमा पहिले अग्रता दिएको थियो। तर ५८ औं मिनेटमा बार्सिलोनाका चाल्र्स अलेनाले गोल गर्दै खेल बराबरी गरेका थिए। 

रियल र बार्सिलोनाबीच यही शनिबार ला लिगामा 'एल क्लासिको' खेल हुँदैछ। ला लिगामा रियल ३३ अंकका साथ शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको बार्सिलोना रियल भन्दा ६ अंकले पछि छ।

यस्तै एथ्लेटिकोले गुइजुएलोलाई ६-० ले हरायो। एथ्लेटिकोको सहज जितमा यानिक कारास्कोले २ गोल गरे भने सउल निगेज, सिम भसालज्को, एन्जल कोरेअ र रोवर्टो नुनेजले १/१ गोल गरे।

अर्को खेलमा जाओक्वि कोरेअको ह्याट्रिकमा सेभियाले एसडी फोर्मेन्टेरालाई ५-१ ले पराजित गर्यो। सेभियाको जितमा विसम बेन येडरले पनि २ गोल गरे। फोर्मेन्टेरोका लागि गाब्री गोमेजले सान्त्वना गोल फर्काए।

कोपा डेल रे को अन्य खेलमा भियारियाले टोलेडोलाई ३-० ले, ग्रानाडाले ओसासुना तथा सेल्टाभिगोले मुसिर्यालाई समान १-० को अन्तरले हरायो। मालागा भने कोर्डोवासँग २-० ले पराजित भयो। 

कोपा डे रे अन्तर्गत आज अन्तिम ३२ को पहिलो लेगको बाँकी ४ खेल हुँदैछन्। दोस्रो लेगको खेलहरु डिसेम्वर २०, २१ र २२ मा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell