
नेपालले थाइल्याण्डमा भइरहेको महिला एसिया कपमा लगातार चौथो हार बेहोरेको छ। विहिबार भएको आयोजक विरुद्धको चौथो खेलमा पनि नेपाल पराजित भयो।
थाइल्याण्डसँग नेपाल ८ विकेटले पराजित भएको हो। फेरी एक पटक नेपालले पुरै २० ओभर ब्याटिङ गर्न सकेन। नेपाल ६३ रनमै अलआउट भयो।
यसअघिका तीन खेलमा पनि नेपाल अलआउट भएको थियो भने ५० रन समेत पार गर्न सकेको थिएन।
नेपालले दिएको ६४ रनको सामान्य लक्ष्य थाइल्याण्डलले १६ ओभरमा पुरा गर्यो।
थाइ टोलीको जितमा ओपनर सिरिन्त्रा साइनसाकारटले नटआउट रहँदै सर्बाधिक २७ रन बनाइन्। अर्का ओपनर नात्ताकान चान्थमले २४ रनको योगदान गरिन्। यी दुई खेलाडीले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गर्दै जितको आधार खडा गरेका थिए।
बलिङमा नेपाली सरिता मगरले २ विकेट हात पारिन्।
यसअघि बैंककस्थित एसियन इन्स्टीच्युट अफ टेक्नोलोजीको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल एक बल बाँकी छँदा ६३ रनमा अल आउट भयो।
नेपालको लागि ओपनर ज्योती पाण्डेले सर्बाधिक १६ रन बनाएको खेलमा अन्य खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्। अर्का ओपनर सिता मगरले ९, कप्तान रुबिना क्षेत्री ८ तथा नेरी थापा ७ रन बनाएर आउट भइन्।
पहिलो विकेटका लागि ज्योती र सिताले ३० रनको साझेदारी गरेपनि यी दुई खेलाडी आउट भएसँगै नेपालको ब्याटिङ धर्मराएको हो। छैटौं विकेटका लागि कप्तान रुविना र नेरीले १४ रनको साझेदारी गरेका थिए।
बलिङतर्फ थाइल्याण्डकी सोरनारिम टिपोच र सुलिपोन लाओमीले समान २ विकेट लिइन्।
जारी प्रतियोगितामा नेपाल अलआउट भएको यो चौथो पटक हो। यसअघि नेपाल पाकिस्तानसँग ४७, श्रीलंकासँग २३ र बंगालेशसँग ४१ रनमा अलआउट भएको थियो।
श्रीलंकासँग बनाएको २३ रन नेपाली टोलीले बनाएको अहिलेसम्मकै कम स्कोर हो।
कुल ६ टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपालले अब अन्तिम खेलमा भोली भारतको सामना गर्नेछ।