PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

संविधान संशोधन प्रस्ताव परिमार्जन गर्न मधेसी मोर्चाको माग



पहिलोपोस्ट

संविधान संशोधन प्रस्ताव परिमार्जन गर्न मधेसी मोर्चाको माग

काठमाडौँ : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव परिमार्जन गर्न माग गरेको छ।
 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भएको छलफलमा मोर्चाका नेताहरुले प्रस्तावप्रति असहमति जनाएका हुन्। बैठकमा प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन प्रस्तावलाई सकरात्मक रुपमा लिएर निर्वाचनका जानका लागि मोर्चाका नेताहरुलाई आग्रह गरेका थिए।
 
मधेसी मोर्चाले बुधबार संविधान संशोधन प्रस्तावप्रति सार्वजनिक रुपमै असहमति प्रकट गरेको थियो। मोर्चाले प्रधानमन्त्रीसँग पनि संशोधनमा आफ्नो सहमति नरहेको स्पष्ट गरेको थियो।
 
बैठकमा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले मोर्चाको संशोधन प्रस्ताव प्रतिको धारणामा सरकारले असहमति प्रकट गरेको बताए। 'हामीले के भन्यौँ भने- तपाईंहरुको मागलाई सम्बोधन गर्नका लागि प्रस्ताव ल्याएको हो। सबै मागहरु सरकार पूरा गर्न सक्दैन। र, सबै माग एकैसाथ पूरा हुन्छ भन्ने अपेक्षा पनि तपाईंहरुको होइन होला।'
 
नेता पुनले संशोधन प्रस्तावलाई समर्थन गर्दै आवश्यक परिमार्जनका लागि छलफल गर्न सकिने आफूहरुले धारणा राखेको जानकारी दिए।
 
मोर्चाका नेतहरुले भने आफ्ना मागका निकै थोरै कुरा मात्र संशोधनमा परेको बताएका थिए। उनीहरुले सरकारले अझै परिमार्जन गरोस् भन्ने धारणा राखेको पुनले बताए।
 
बैठकमा प्रधानमन्त्रीले स्थानीय तह वा स्थानीय निकाय निर्वाचनमा के हो धारणा भनेर मोर्चाको धारणा माग गरेका थिए।

बैठकपछि मोर्चाका नेताहरुले भने संविधान संशोधन टुङ्गो नपुगेसम्म निर्वाचनमा नजाने बताएका थिए। 'यो संशोधनलाई थप परिमार्जन गरेर संशोधित गर्नुस् अन्यथा हामी निर्वाचनमा जाने वातावरण बन्दैन भनेर हामीले भनेका छौं‌,' सद्भावना पार्टीका महासचिव मनीष सुमनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell