PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

मास्टर्स सकेर बेरोजगार बनेकी युवती कोकिन-भरिया



सविन ढकाल

मास्टर्स सकेर बेरोजगार बनेकी युवती कोकिन-भरिया

काठमाडौं : भारतीय मूलकी मलेसियन नागरिक एलिक जोशेफले मास्टर्स डिग्री सकेको केही समय मात्र भएको थियो। डिग्री हात पारे पनि उनले भने जस्तो नोकरी कहिले पाइनन्। राम्रो रोजगारीको खोजीमा निराश बनेकी ३० वर्षीया एलिकको भेट हुन्छ- मलेसियाका प्रकास रोयसँग।
 
रोयले एलिकलाई पैसा कमाउन भन्दै ब्राजिलको साओपाउलो पठाउँछन्। ब्राजिलमा एलिकको भेट तारा भन्ने व्यक्तिसँग हुन्छ। ताराले नै उनलाई कालो ब्याग हातमा थमाइदिन्छिन्। ब्याग हातमा हाल्नेबितिकै ब्राजिलको साओउलो हुँदै दुबईको आबुधावीबाट नेपाल आउने हवाई टिकट दिन्छिन्। 

***
आबुधावी हुँदै उडेकी एलिक गत मंगलबार नेपाल आइपुगिन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेबित्तिकै ब्यागमा रहेको कोकिनबारे प्रहरीले सुइँको पाइहाल्यो। त्यसपछि पिछा गर्न थालेको लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीबाट उनी उम्कन सकिनन्।

बुक गरेको कोठामै पुगेर एलिक समातिइन्। कोठामै रहेका मलेसियन नागरिक मेगेनथिरन राझा पनि प्रहरी फन्दामा परे।

झोलामा रहेको उक्त कोकिन बुझाएपछि एलिकको जिम्मेवारी सकिन्थ्यो। तर राझाको हातसम्म कोकिन नपुग्दै प्रहरीले दुवैलाई पक्राउ गर्न सफल भयो। राझा भने एलिकले दिने कोकिन लिएर बुधवार राति ११ बजे ड्रागन विमानबाट  हङकन जाने तयारीमा थिए।

झोलाबाट प्रहरीले डेढ केजी कोकिन फेला पारेको छ। बरामद कोकिनको बजार मूल्य ३ करोड बराबरको छ।
 
पक्राउ परेकी एलिकलाई पैसाको लागि नै लागुऔषध कारोबारमा भरिया बनाएको प्रहरी अनुसन्धानले बताएको छ। लागुऔषध नियन्त्रण ब्युरोका डिआइजी जयबहादुर चन्द भन्छन्, 'उनलाई आफू गलत काम गर्दैछु भन्ने थाहा हुँदाहुदै पनि राम्रो जागिर नपाएर भौंतारिएको बेला कारोबारीको जालमा परिन्।' ती महिलालाई नेपालमा आएर कोकिन जिम्मा लगाए बापत ५ सय डलर दिने शर्त थियो।
 

नेपालमा कोकिन प्रयोगकर्ता छैनन् 

लागुऔषध नियन्त्रण ब्युरोले ५ वर्षको अवधिमा २२ केजीभन्दा बढी कोकिन बरामद गरिसकेको छ। कोकिनको प्रयोगकर्ता नेपालमा नभएको प्रहरीको दाबी छ। तर कारोबारीहरुले नेपाललाई नै ट्रान्जिट बनाएर यहाँबाट अन्य देशमा सप्लाई गर्ने गरेका छन्।
 
नेपालमा एक पप कोकिन खानको लागि मात्र २५ देखि ३० हजारसम्म लाग्छ। यसको सेवन महँगो भएकाले पनि नेपाल जस्तो देशमा प्रयोगकर्ता नभएको डिआइजी चन्द बताउँछन्।

भरिया मात्र पक्राउ

प्रहरीले अहिलेसम्म कोकिन कारोबारमा संलग्न जति जना पक्राउ गरेको छ, ती सबै 'भरिया' मात्र हुन्। ओसारपसार गर्ने तथा मुख्य कारोबारी अझै उम्किरहेका छन्। अन्तर्राष्ट्रिय रुपमा गिरोह नै परिचाल गरेर कोकिनको कारोबार भइरहे पनि प्रहरीले गिरोहमा संलग्न पक्राउ गर्न सकेको छैन।

लागुऔषध तस्करीले भरियाको रुपमा भारतीय, बुल्गेरियन, चाइनिज, मलेसियन, पेरु, ब्राजिलियन नागरिकलाई प्रयोग गर्दै आएका छन्। लागुऔषध ओसारपसारमा संलग्न हुनेहरुलाई कारोबारीले ५५ हजार देखि ५ लाख रुपैयाँसम्म दिने गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell