काठमाडौं : स्वास्थ्यमन्त्री गगनकुमार थापाले सरकारले एचआइभी/एड्सलाई प्राणघातक रोगबाट दीर्घरोगको रुपमा परिभाषित गरी यसको नियन्त्रण तथा उपचारमा जोड दिएको बताएका छन्।
उनन्तीसौं विश्व एड्स दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले स्वास्थ्य नीति र रणनीति दुवैले सबै एचआइभी सङ्क्रमितलाई एआरभी औषधिको सेवा पुर्याउने जानकारी दिए। वर्षको एक दिन दिवस मनाएर बाँकी दिन सुतेर नबस्न पनि उनले मन्त्रालयका अधिकारीलाई आग्रह गरे।
स्वास्थ्य मन्त्रालयका सचिव डा. सेनेन्द्र उप्रेती र राष्ट्रिय एड्स तथा यौनरोग केन्द्रका निर्देशक डा. तरुण पौडेलले नेपालले सन् २०३० सम्ममा एचआइभी सङ्क्रमण न्यून गर्ने नीतिका साथ आफ्ना कार्यक्रम लक्षित गरेको जानकारी गराए।
सन् १९८८ मा पहिलो पटक नेपालमा पनि एचआइभी सङ्क्रमित देखा परेको थियो। सोही वर्षदेखि विश्वमा आजको दिनलाई एड्स दिवसका रुपम मनाउन सुरु गरिएको थियो। यस वर्षको ‘नारा हामी सबैको काम, एचआइभीको रोकथाम’ रहेको छ।