काठमाडौँ : नेकपा माओवादी केन्द्रले संविधान संशोधन प्रस्ताव संशोधन गरेर अगाडि बढ्न प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई प्रस्ताव गरेको छ।
संसद बैठक अवरोध गर्दै सडक आन्दोलनमा उत्रिएको एमालेलाई माओवादीले संशोधन प्रस्ताव संशोधन गर्न प्रस्ताव गरेको हो। बुधबार अबेर सरकारले भाषा, राष्ट्रिय सभामा प्रतनिधित्व, नागरिकता र सीमाङ्कन हेरफेरका लागि संविधान संशोधन प्रस्ताव दर्ता गरेको थियो।
नेकपा माओवादी केन्द्रका सांसद समेत रहेका अग्निप्रसाद सापकोटाले आफूहरु संशोधन प्रस्ताव संशोधन गरेर अगाडि जान तयार रहेको बताएका छन्। 'तपाईंहरुसँग राम्रो प्रस्ताव छ भने ल्याउनुहोस्, त्यसले समस्या समाधान गर्छ भने अगाडि बढौँ,' उने भने।
सापकोटाले संविधान कार्यान्वयनका लागि संविधान संशोधन आवश्यक रहेको बताए। अहिले गरिएको सीमाङ्कन हेरफेर सहितको प्रस्ताव लचिलो प्रस्ताव भएको उनको भनाइ छ।
बिहीबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चालाई समेत संविधान संशोधन स्वीकार्न आग्रह गर्दै परिमार्जन गर्न सकिने बताएका थिए। नेता वर्षमान पुनका अनुसार प्रचण्डले मधेसी मोर्चाका नेताहरुलाई संविधान संशोधन प्रस्ताव आवश्यक परिमार्जनका लागि छलफल गर्न सकिने बताएका थिए।
बिहीबारको संसद बैठक अवरोध गरेको एमालेका अध्यक्ष केपी शर्मा ओलीसमक्ष समेत प्रचण्डले छलफलको प्रस्ताव गरेका थिए। यद्यपि अध्यक्ष ओलीले भने कुराकानीको प्रस्ताव समेत नकारेका छन्।