काठमाडौं : मधेसी मोर्चासम्बद्ध संघीय गठबन्धनले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक अस्वीकार गरेको छ।
गठबन्धनको केन्द्रीय आन्दोलन मूल परिचालन समितिको बिहीबार काठमाडौंमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। संघीय गठबन्धनले उठाएका मुद्दाहरुको बेवास्ता गरी संशोधन प्रस्ताव लगिएको गठबन्धनका संयोजक उपेन्द्र यादवद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
राज्य पुनर्संरचना आयोगको प्रतिवेदनको आधारमा राज्य पुनर्संरचना, राष्ट्रिय पहिचानको मान्यता, अधिकारसहितको संघीयता, राज्यका सबै अंगमा समानुपातिक समावेशीकरण जस्ता सवाललाई विधेयकले सम्बोधन गर्न नसक्ने गठबन्धनको ठहर छ। 'बहुभाषिक नीति, स्वायत्तता र स्वशासन, संघीय न्यायपालिका, प्रादेशिक क्षेत्राधिकारभित्र स्थानीय तह तथा विशेष संरचनाहरु रहने व्यवस्था, सामाजिक न्याय र समानताको अधिकारका सबै खाले विभेद्को अन्त्य आदि समस्याहरुलाई सम्बोधन गर्न नसक्ने अवस्थामा उक्त विधेयकलाई संघीय गठबन्धनले अस्वीकार गर्ने निर्णय गर्दछ,' विज्ञप्तिमा उल्लेख छ।
यही विधेयकले जातीय, वर्गीय, लैंगिक, भाषिक, सांस्कृतिक, धार्मिक र क्षेत्रीय भेद्भावलाई अन्त्य गर्न नसक्ने पनि जनाइएको छ।