PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

​सीमाङ्कन परिमार्जन : तीन जिल्लामा कुनै असर परेन, तीन जिल्लामा शान्तिपूर्ण बन्द



सविन ढकाल

​सीमाङ्कन परिमार्जन : तीन जिल्लामा कुनै असर परेन, तीन जिल्लामा शान्तिपूर्ण बन्द

काठमाडौँ : सरकारले मंगलबार राति संविधान संशोधन विधेयक दर्ता गराएको भोलिपल्टदेखि प्रदेश ४ मा सार्ने प्रस्ताव गरिएका तीन जिल्लामा भएको प्रदर्शन आज पनि जारी छ।

राजधानीमा एमालेको युवा र विद्यार्थी भ्रातृ संगठनले आज बिहान विभिन्न कलेज अगाडि प्रदर्शन गरेका थिए। विधेयकमा हाल पाँच नम्बर प्रदेशमा रहेका ६ जिल्लालाई प्रदेश चारमा सार्ने प्रस्ताव गरिएको छ।  के छ ती जिल्लाको स्थिति ?

पाल्पा

पाल्पा जिल्लामा बुधबारदेखि नै बन्द आह्वान गरिएको छ। बिहीबार पनि बन्दले त्यहाँको जनजीवन प्रभावित बनायो। विभिन्न राजनितिक दलले बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म बन्द आह्वान गरेका हुन्। दुई दिनदेखि बन्द भएपनि स्थिति शान्तिपूर्ण नै रहेको पाल्पा जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

प्युठान

प्युठानमा बिहीबार बन्द भएन। आज दिउँसो घुर्मीमा आमसभा गरिएको छ। आमसभामा विधेयकको विरोध गरिए पनि बन्दका कार्यक्रम नभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी रञ्जित सिह राठौरले पहिलोपोस्टलाई बताए। उनका अनुसार जिल्लामा हुन सक्ने गतिविधिलाई ध्यान दिँदै सुरक्षा व्यवस्था कडा बनाइएको छ। 

रोल्पा

प्रदेश नम्बर ४ मा सारिएको अर्को जिल्ला रोल्पामा बुधबार र बिहीबार कुनै पनि बन्द तथा विरोधका कार्यक्रम भएको छैन। रोल्पाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

अर्घाखाँची 

मंगलबार संविधान संशोधन विधेयक दर्ता भएसँगै प्रर्दशन शुरु भएको अर्घाखाँची जिल्लामा बिहीबार पनि प्रर्दशन भएका छन्। बिहान ८ बजेदेखि एमालेसहित विभिन्न राजनीतिक दलहरुले बन्दका कार्यक्रम घोषण गरेका थिए। सामान्य किसिमको बन्द भएकाले स्थिति शान्तिपूर्ण नै रहेको जिल्ला प्रहरी कार्यलयका प्रमुख नवराजरत्न पौडेलले बताए। 

गुल्मी

 गुल्मीमा पनि संशोधन विधेयकको विरोधमा प्रर्दशन भएका छन्। विभिन्न राजनीतिक दलले जिल्ला बन्दको आह्वान गरेपछि यातायात, कलकारखाना, व्यापारिक केन्द्र ठप्प छन् तर शिक्षण संस्थाहरु खुलै छन्। सुरक्षा व्यवस्था कडा भएका कारण अशान्त हुने कुनै घटना नभएको एसपी भोला रावलले बताए। 

रुकुम

संविधान संशोधन विधेयकमा रुकुमको मगर बाहुल्य भागलाई प्रदेश ४ मा राखिएको छ। तर जिल्लामा कुनै पनि राजनीतिक दलले बन्द तथा विरोधका कार्यक्रमहरु आयोजना गरेका छैनन्। अहिले यस जिल्लामा यातायात, व्यापारिक केन्द्र, कलकारखाना निर्वाध चलेको डिएसपी अंगुर जिसीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell