PahiloPost

May 10, 2025 | २७ बैशाख २०८२

लोडसेडिङ हटेपछि डिजेलको माग स्वात्तै घट्यो, कर्पोरेट र होटलमा मासिक लाखौं बचत



पहिलोपोस्ट

लोडसेडिङ हटेपछि डिजेलको माग स्वात्तै घट्यो, कर्पोरेट र होटलमा मासिक लाखौं बचत

काठमाडौं : राजधानीको पाँचतारे होटल डेला अन्नपूर्ण नेपाल आयल निगमको थानकोट डिपोमा डिजल लिन नगएको १५ दिन भयो। लोडसेडिङका बेलामा होटलले मासिक १२ हजार लिटर डिजल लैजाने गरेको थियो।
 
राजधानीकै अर्को पाँचतारे होटल सांग्रिलाले पनि साप्ताहिक ३ हजार लिटर डिजल किन्थ्यो। यो होटलबाट पनि डिजलको डिमान्ड लिएर २० दिनयता कोही कर्मचारी थानकोट डिपो पुगेका छैनन्।
 
‘थानकोट डिपोमा अहिले कर्पोरेट हाउस लगायतका ठूला कन्जुमर लिन आउनै छाडेका छन्। असोजसम्म दैनिक एक लाख लिटर डिजलमा कन्जुमरको माग आउने गरेकोमा अहिले शून्य नै छ,’ थानकोट डिपो प्रमुख नेत्र काफ्लेले भने।
 
उनका अनुसार सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले विगतमा महिनाभरिमा ३० हजार लिटर डिजल लैजान्थ्यो। तर अहिले झन्डै एक महिनामा ६ हजार लिटर डिजल लगेको छ।
 
नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा कुलमान घिसिङ आएपछि राजधानी लोडसेडिङमुक्त भएको छ। लोडसेडिङ अन्त्य हुँदा डिजेलमा खर्चने यो होटलको मात्रै मासिक ८ लाख ७६ हजार रुपैयाँ बचत भएको छ।
 
नेपालमा रहेका विभिन्न दूतावासको पनि डिजल लैजान छाडेका छन्। अमेरिकी दूतावासले थानकोट डिपोमा डिजल लिन नगएको २० दिनभन्दा बढी भयो। यो दूतावासले महिनाभरिमा ३० हजार लिटर डिजल डिपोबाट लिने गर्थ्यो।
 
थानकोट डिपो मात्रै होइन पेट्रोल पम्पमा भाडामा डिजल लैजान बन्द भएको छ। नेपाल पेट्रोलियम डिलर्स एसोसिएशनका अध्यक्ष लिलेन्द्र प्रधानले ड्रम र जर्किनमा डिजल बिक्री हुन छाडेको जानकारी दिए।
 
'पहिला जाडोको समयमा ड्रम र जर्किनमा धेरै डिजल बिक्री हुन्थ्यो अहिले सबैजसो पम्पमा यसरी डिजल बिक्री हुन छाडेको छ,' उनले भने, 'लोडसेडिङ नहुँदा जेनेरेटरमा प्रयोग हुने डिजलको खपत बन्द भएको छ।' 
 
निगमका निमित नायव कार्यकारी निर्देशक सुशील भट्टरार्इले राजधानीमा हिउँदको समयमा कुल डिजल खपतको ६० प्रतिशत उर्जाका लागि प्रयोग हुने गरेको बताउँदै लोडसेडिङ नहुँदा उर्जाका लागि प्रयोग हुने डिजलको माग घटेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell