PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

राष्ट्रिय बिच भलिबल च्याम्पियनसिप : क्वाटरफाइनलमा समीकरण पूरा



पहिलोपोस्ट

दोलालघाट : पाचौँ महिला तथा छैटौं राष्ट्रिय बिच भलिबल च्याम्पियनसिपमा पुरुष र महिला दुवैतर्फ क्वाटरफाइनलको समीकरण पूरा भएको छ। 
दोलालघाटस्थित इन्द्रावती खोलाको बिचमा बिहीबार भएको खेलमा जित हात पार्दै पुरुषतर्फ एपीएफ, नेपाल पुलिस र आर्मीका दुवै जोडी तथा सुदूरपश्चिमाञ्चल र पश्चिमाञ्चलको टोली अन्तिम आठमा स्थान बनाउन सफल भए। 

महिलातर्फ एपीएफ, पुलिस र पूर्वाञ्चलका दुवै टिम तथा पश्चिमाञ्चल र मध्यमाञ्चलको एक एक टोलीले क्वाटरफाइनलमा स्थान बनाएका छन्।

नेपाल भलिबल संघको आयोजना र काभ्रे जिल्ला भलिबल संघको ब्यवस्थापनमा सञ्चालन भएको प्रतियोगिताको प्री–क्वाटरफाइनलमा पुलिस ए का कोपीला उप्रेती र कमला पुनको जोडीले आर्मीका जानकी भण्डारी र मनिसा खाँडको जोडीलाई २१–१४ र २१–१३ हराए। 

एपीएफ ए की नेभिका चौधरी र सरस्वती चौधरीको जोडीले मध्यपश्चिमाञ्चलका लिला खत्री र अमृता विष्टको जोडीलाई २१–७ र २१–१० ले हराउदै कोपिला र कमलाको जोडीसँग क्वाटरफाइनलमा भेट पक्का गरे। 

एपीएफ बी कै रेश्मा भण्डारी र निसाना बलालको जोडीले सुदुरपश्चिमाञ्चल बीकी पुनम चन्द र रीता बोहराको जोडीलाई २१–७ र २१–८ ले हराउदै क्वाटरफाइनलमा स्थान बनाए। 

त्यस्तै महिलातर्फ पुलिस बी की निता शाह र मनिषा चौधरीको जोडीले मध्यमाञ्चल ए की वर्षा थापा र अजिता ठकुरीको जोडी, एपीएफ बी की रेश्मा र निसानाको जोडीले पूर्वाञ्चलकी भूमिका मुडेल र विपना राजवंशीको जोडी तथा पश्चिमाञ्चलकी मञ्जु गुरुङ र अरुणा शाहीको जोडी आपसमा क्वाटरफाइनलमा खेल्नेछन्। 

पुरुषतर्फ एपीएफ ए का सुरेश चौधरी र मिलन मल्लको जोडीले सुदूरपश्चिमाञ्चलका गंगा अवस्थी र योगेश शाही तथा एपीएफ बी का लक्ष्मण राना र दिनेश गीरीको जोडीले आर्मी बी का दिल सुनार र दुर्गा महत्तोको जोडीसँग क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछन्। 

आर्मी एका दिप खड्का र रिसीधन मगरको जोडीले पुलिस बी का ध्रुव पौडेल र दिपक जोशीको जोडीसँग तथा पुलिस ए का चन्द्र कुँवर र प्रज्वल मल्लको जोडीले पश्चिमाञ्चलका रमेश केसी र घनश्याम चोधरीको जोडीसँग अन्तिम आठमा प्रतिस्पर्धा गर्नेछन्। 

पुरुषकै प्री–क्वाटरफाइनलमा सुदुरपश्चिमालका गंगा र योगेशको जोडीले मध्यमाञ्चलका जितेन्द्र र श्रीरामको जोडीमाथी २२–२० र २१–१९ को रोमाञ्चक जित हात पारे। एपीएफ बी का लक्ष्मण र दिनेशको जोडीले मध्यमाञ्चल बी को राजेन्द्र शर्मा र दमन केसीको जोडीलाई २१–१२ र २१–१२ को सोझो सेटमा हराउदा आर्मी बीका दिल र दुर्गाको जोडीले मध्यपश्चिमाञ्चल एका टेक राना र विक्रम साउदको जोडीलाई २१–१३ र २१–११ ले हराउदै क्वाटरफाइनलमा प्रवेश गरेका थिए। 

त्यस्तै आर्मी ए का दिप र रिसीधनको जोडीले मध्यपश्चिमाञ्चलको इश्वर खड्का र मनिराम चौधरीको जोडीलाई २१–११ र २१–११ ले हराउदा पुलिस ए का चन्द्र र प्रज्वलको जोडीले पुर्वाञ्चल बी का दिपेन मल्लिक र नितेश धिमालको जोडीलाई २१–२ र २१–१३ को सोझो सेटमा हराएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell