
काठमाडौं : महिला एसिया कपको अन्तिम खेलमा नेपाल भारतसँग ९९ रनले पराजित भएको छ। थाइल्याण्डमा भइरहेको प्रतियोगितामा नेपालले भारतविरुद्ध अहिलेसम्मकै सबैभन्दा कम स्कोर बनाउने रेकर्ड समेत राखेको छ।
नेपाल भारतविरुद्ध २१ रनमा अलआउट भयो। यसअघि जारी प्रतियोगितामै नेपाल श्रीलंकाविरुद्ध २३ रनमा अलआउट भएको थियो।
भारतले दिएको १२१ रनको लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा २१ रनमा अलआउट भएको हो। भारतविरुद्ध नेपालका कुनै पनि खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्। अझ ५ खेलाडीले खाता समेत खोल्न सकेनन्।
नेपालले बनाएको २१ रनमध्ये पनि सर्वाधिक ७ रन अतिरिक्तबाट पाएको थियो। यसबाहेक सरिता मगरले बनाएको ६ रन नै नेपाली खेलाडीले बनाएको व्यक्तिगत उच्च स्कोर रह्यो।
नेपाललाई अहिलेसम्मकै कम स्कोरमा रोक्न भारतका पुनम यादवले सर्वाधिक ३ विकेट लिइन् भने मेघ्न साबीनेनीले २ विकेट लिइन्।
यसअघि बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२० रन बनाएको हो।
भारतका लागि शिखा पाण्डेले नटआउट रहँदै सर्बाधिक ३९ रन बनाइन् भने भनिताले २१ तथा अनुजा पाटिलले १६ रन जोड्नि। बलिङमा नेपालकी रुबिना क्षेत्रीले २ तथा सिता राना मगर र करुणा भण्डारीले १ १ विकेट हात पारिन्।
जारी प्रतियोगितामा नेपालले यो लगातार पाँचौ हार हो। यसअघि नेपाल पाकिस्तान, श्रीलंका, बंगलादेश, र थाइल्याण्ड विरुद्ध पराजित भइसकेको छ।
६ टोली सम्मिलित प्रतियोगितामा भारत भने सबै ५ खेल जित्दै फाइनलमा प्रवेश गरेको छ।
फाइल फोटो