सीमावर्ती जिल्लामा पुगेपछि किनमेलको रहर धेरैमा हुन्छ नै। यसपाला सुदूर र मध्यपश्चिमी पहाडको यात्रामा केन्द्रविन्दु रह्यो नेपालगञ्ज। यहाँबाट पहाडी क्षेत्रमा हुने उडानको विकल्प छैन। केन्द्रसँग जोडिने हवाई यात्राका लागि पनि नेपालगञ्ज नै केन्द्रमा। यो पुरानो सहरको मुहार अहिले पूरै फेरिएको छ। नेपालगञ्ज अहिले होटलहरुका सहरको रुपमा परिवर्तन हुँदैछ। त्यसैले मध्यपश्चिम र सुदूर नेपालको केन्द्र नेपालगञ्ज सबैखाले सुविधाले भरिएको छ। पूर्वपश्चिम राजमार्गको कोहलपुरबाट सुरु हुने फराकिलो सडक भारतको सीमावर्ती बजार रुपैडियासम्मै पुग्छ। नेपाली बजारमा सबै वस्तु उपलब्ध भए पनि मानिसहरु भारतीय बजार पुग्ने र किनमेल गर्ने चलन पुरानै हो।
यसपाला भारतीय बजार जानुको उद्देश्य बाटा कम्पनीबाट उत्पादन हुने चप्पल किन्नु थियो। त्यही निहुँमा भारतीय बजारमा आएको परिवर्तन पनि हेर्न सकिने मोह हुनु स्वभाविक हो। रुपैडिया बजार थप गुलजार भएको छ। किनमेलका लागि सामानहरु पनि थपिएका छन्। उपभोग्य सबैजसो वस्तुहरु उपलब्ध छन्। बजार घुम्दै चप्पल किन्दा चकमकाउनुपर्ने अवस्था देखियो। ९ सय ९९ भारतीय रुपैयाँको जुत्ताको मूल्य १ हजार ८ सय र ३९९ भारुको चप्पलको मूल्य ७ सय २० नेपाली रुपैयाँ!
भारतीय विनिमय दर १ सयको १ सय ६० नेपाली रुपैयाँ रहे पनि यो दर अहिले बिथोलिएको छ।
'प्राइस फिक्स पैसा पनि फिक्स। हजारको १८ सय नेपाली,' जुत्ता पसलमा भने।
मैले भने, 'यो त मिलेन १ हजारको १६ सय हो त।'
'पहिला थियो अहिले होइन,' उसले आफ्नो दावी कायम राख्यो।
'किन अहिले? पहिले आउँदा त १.६ कै हिसाबले मिल्थ्यो त!' मैले भने।
'पहिले त थियो तर अहिले छैन।'
उसले दुई देशबीच कायम विनिमय दरमा दिन मानेन।
एउटा पसलमात्र होइन सबैजसो सीमावर्ती पसलमा नेपाली रुपैयाँ अवमूल्यन भइरहेको छ। यसको पछाडि भारतको 'नोटबन्दी' बाहेक अरु कुनै कारण छैन। भारत सरकारले ५ सय र हजार रुपैयाँका नोट निषेध गरेलगत्तै भारतमा नोट संकट पैदा भयो। कालो धन समाप्त गर्ने नीतिअनुसार भारत सरकारले गरेको यसको कडा असर भारतमा छँदैछ, प्रभावित हुन नपर्ने नेपालसम्मै यसको असर देखिएको छ।
१ हजार भारतीय रुपैयाँको १ हजार ८ सय नेपालीमा कारोबार नहुने हो भने सीमामा किनमेल नहुने भयो। बार्गेनिङ गर्न सक्नेले २०/५० रुपैयाँ घटाउन सके पनि नेपाली मुद्रा अवमूल्यन असंगठित रुपमा नै भइरहेको छ।
भारतीय बजारमा नेपाली रुपैयाँको बिग्रँदो रुप देखेपछि फर्किएर उही पुरानो सहर नेपालगञ्ज फर्कियौं। साँझको मौसम सेकुवा खाने रहर भयो। रेस्टुराँमा छिर्दा काउन्टर र भित्ताहरु जताततै लेखिएको थियो – भारतीय ५ सय र हजारको नोट मनाही छ। सीमाको यो सहरमा खुलेआम कारोबार हुने ५ सय र १ हजारको नोट नोटबन्दीको सिकार भएको छ। भारतीय नोटको संकटले नेपाली रकमको मूल्य घट्नुपर्ने यो हालतको आधार भने अनुत्तरित नै छ। कसैसँग उत्तर होला यसबारे?