
संयुक्त अरब इमिरेट्सका खेलाडी ओमार अब्दुलरहमानले सन् २०१६ को 'एएफसी प्लेअर अफ दि इअर' अवार्ड जितेका छन्।
गत वर्ष आफ्नै सहकर्मी अहेमेद खालिलसँग पछि परेको ओमारले यस पटक इराकका हम्मादी अहमेद र चीनका वु लेईलाई पछि पार्दै अवार्ड हात पारेका हुन्।
युएईकै अल अइन क्लबबाट व्यावसायीक फुटबल खेल्ने ओमारलाई क्लब र देश दुवैका लागि राम्रो प्रदर्नन गरेको आधारमा अवार्ड प्रदान गरिएको हो।
ओमार खेलिरहेको क्लब अल अइन यस सिजन एएफसी च्याम्पियनसिपको फाइनलमा पुगेको थियो भने युएई सन् २०१८ मा रसियामा हुने विश्वकपको एसियन छनोटको अन्तिम चरणमा प्रतिस्पर्धा गरिरहेको छ।
एएफसीका अध्यक्ष शेख सलमान विन एब्राहिम अल खालिफाबाट अवार्ड पाएलगतै २५ वर्षे ओमारले यस्तो प्रकारको सम्मान आफ्नो लागि ठुलो उपलब्धी भएको बताए।
यस्तै महिलातर्फको एएफसी प्लेअर अफ दि इअर अवार्ड अष्ट्रलियाकी काइटलिन फुर्डले हात पारेकी छिन्। उनले आफ्नै सहकर्मी लिसा डे भन्ना र चीनकी तान रुयिनलाई पछि पारेकी हुन्।
चीनकी मा जिओजु पछि फुर्ड एएफसी वुमन्स प्लेअर अफ दि इअर र एएफसी युथ वुमन्सको अवार्ड जित्ने पहिलो खेलाडी बनेकी छिन्। सन् २०११ मा फुर्ड एएफसी युथ वुमन्सको अवार्ड जितेकी थिइन्।
यस्तै प्रशिक्षकतर्फ दक्षिण कोरियाका चोइ काङ हीले एएफसी कोच अफ दि इअर अवार्ड जिते। उनकै प्रशिक्षणमा कोरियन क्लब जोओनवक हुण्डाई मोटरसले यस सिजन एएफसी च्याम्पियन्स लिगको अवार्ड जितेको थियो।
एएफसी वुमन्स कोच अफ दि इअरको अवार्ड हङकङकी चान युएन तिङले हात पारिन्।
यस्तै जापानका रित्सु डोअन एएफसी मेन युथ प्लेअर अफ दि इअर तथा जापानकै फुगा नागोने एएफसी वुमनस प्लेअर अफ दि इअर घोषित भए।
एएफसी एसियन इन्टरनेसनल प्लेअर अफ दि इअर प्रिमियर लिगमा लेस्टर सिटीबाट खेल्ने जापानका सिन्जी ओकाजाकी घोषित भए।
अफ्रिकन फुटबल महासँघका अध्यक्ष इसा हायतोउलाई एएफसी डाएमण्ड अवार्ड प्रदान गरियो।
यस्तै अवार्ड समारोहमा एसियाका विभिन्न फुटबल संघहरुलाई विभिन्न अवार्ड प्रदान गरियो। जसमा भारतको अल इन्डिया फुटबल फेडेरेसनले एएफसी डेबलपिङ मेम्वर एसोसिएसन अफ दि इअरको अवार्ड पायो भने भुटानको भुटान फुटबल फेडेरेसनले एएफसी अस्पायरिङ मेम्वर एसोसिएसन अफ दि इअरको अवार्ड पायो।