PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

विश्व शारीरिक सुगठनमा भिड्दै ४ नेपाली खेलाडी, दुई नेपाली जज निर्णायक मण्डलमा



पहिलोपोस्ट

विश्व शारीरिक सुगठनमा भिड्दै ४ नेपाली खेलाडी, दुई नेपाली जज निर्णायक मण्डलमा

विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स महासंघ (डब्लुबीपीएफ) को तत्वावधान र थाइल्यान्ड शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक्स संघको आयोजनामा आठौं डब्लुबीपीएफ विश्व शारीरिक सुगठन च्याम्पियनसिप शुक्रबारदेखि थाइल्यान्डको पर्यटकीय नगरी पटायामा सुरु हुँदैछ।

च्याम्पियनसिपमा नेपालबाट १ महिलासहित ४ खेलाडीले विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा गर्दैछन्। शारीरिक सुगठनको पुरुष ६५ केजीमा अनिललाल श्रेष्ठ, स्पोर्ट्स फिजिक्स १७५ सेन्टीमिटर उचाइमा विनोद वज्राचार्य तथा फिटनेस फिजक्स र स्पोर्ट्स फिजिक्सको १७० सेन्टीमिटर उचाइमा विमललाल श्रेष्ठले प्रतिस्पर्धा गर्दैछन्।

पाकिस्तानमा यसै वर्ष भएको दक्षिण एसियाली शारीरिक सुगठनमा कांस्य जितेका अनिललले मास्टर्स ४० वर्षमाथि पनि प्रतिस्पर्धा गर्नेछन्। विमलले छैटौं संस्करणको स्पोर्ट्स फिजिक्समा रजत जितेका थिए। विनोदको ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो।

विमल र अनिलको खेल शुक्रबारै हुनेछ। विमलले शुक्रबार स्पोर्ट्स फिजिक्स तथा अनिलले ६५ केजी र मास्टर्स दुवैमा भाग लिनेछन्। शनिबार विनोद स्पोर्ट्स फिजिक्स र विमलले फिट्नेस फिजिक्समा खेल्नेछन्।

महिलाको एथ्लेटिक फिजिक्स १७० सेन्टीमिटर उचाईसम्म ननिता महर्जनले भाग लिनेछिन्। ननिताको प्रतिस्पर्धा भने प्रतियोगिताको अन्तिम दिन आइतबार हुनेछ।

नेपाली शारीरिक सुगठनको इतिहासमा महिला खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन लागेको यो दोश्रो पटक हो। अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पटक प्रतिस्पर्धा गर्ने नेपाली महिला खेलाडी निर्मला महर्जन हुन्। 

निर्मलाले थाइल्यान्डको बैंककमै गत वर्ष भएको विश्व च्याम्पियनसिपको सातौं संस्करण तथा भुटानको थिम्पुमा भएको ५० औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा सहभागिता जनाएकी थिइन्।

विश्व च्याम्पियनसिपमा सुरुकै संस्करणदेखि नियमित रुपमा सहभागिता जनाउँदै आएको नेपालले पदक पनि जितेको छ। विमलसहित विश्व शारीरिक सुगठनमा तीन नेपाली खेलाडीले विभिन्न स्पर्धामा पदक जितेका छन्। दोश्रो संस्करणको शारीरिक सुगठनतर्फ ६५ केजीमा श्याम श्रेष्ठले कांस्य तथा सातौं संस्करणको ५५ केजीमा रुजेश शाहीले रजत जितेका थिए। 

तीनदिने प्रतियोगितामा नेपालसहित ५६ राष्ट्रका खेलाडीले विभिन्न १५ स्पर्धामा आ–आफ्नो कौशल प्रदर्शन गर्नेछन्। अफ्गानिस्तान भिसाका कारण प्रतियोगितामा सहभागी हुन पाएन।

नेपालका दुई अन्तर्राष्ट्रिय जजले विश्व च्याम्पियनसिपको आठौं संस्करण सञ्चालन गर्ने निर्णायक मण्डलमा रहने छन्। सुनील राजकर्णिकार र पुष्पकुमार श्रेष्ठले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न लागेका हुन्।

यसैबीच डब्लुबीपीएफको विहीबार बसेको साधारण सभाले यसअघिका अध्यक्ष काजाकिस्तान र महासचिव सिंगापुरका डातुक पाउल छोलाई नै निरन्तरता दिँदै चार वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ।

त्यस्तै साधारणसभाले विश्व च्याम्पियनसिपको नवौं संस्करण २०१७ को अक्टोबरमा मंगोलिया तथा एसियाली च्याम्पियनसिपको ५१ औं संस्करण २०१७ कै अगष्टमा दक्षिण कोरियामा गर्ने निर्णय पारित गरेको साधारणसभामा सहभागी नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले जनाएका छन्। 
फोटोहरु राखेप



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell