PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

बुटवलमा आन्दोलित व्यवसायी भन्छन्- 'पहाड र तराईबीच घिउ-नुनको सम्बन्ध तोड्न खोजियो'



रासस

बुटवलमा आन्दोलित व्यवसायी भन्छन्- 'पहाड र तराईबीच घिउ-नुनको सम्बन्ध तोड्न खोजियो'

बुटवल : सरकारले ५ नम्बर प्रदेश टुक्र्याउने गरी संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक फिर्ता गर्नुपर्ने मागसहित आज बुटवलका उद्योगी व्यवसायीले जुलुस गरेका छन्।
 
जिल्लास्थित व्यवसायी सञ्जालको नेतृत्वमा बुटवलको राजमार्ग चौराहा, बसपार्क र पुष्पलाल पार्कलगायतका स्थानबाट जुलुस निस्किएको थियो। उद्योगी, व्यवसायी, यातायात व्यवसायी, निजी शिक्षण संस्था सञ्चालकहरु राष्ट्रिय झन्डासहित प्रदर्शनमा उत्रिएका थिए। उनीहरुले प्रदेश नं. ५ लाई विभाजन गरेर पहाड र तराईको सदियौँदेखिको सम्बन्ध तोड्न खोजेको भन्दै यसो नगर्न सरकारलाई चेतावनी दिएका थिए।
 
जिल्लाका व्यावसायिक संस्था व्यापार सङ्घ, उद्योग सङ्घ, बुटवल उद्योग वाणिज्य सङ्घ, पश्चिम नेपाल बस व्यवसायी सङ्घ, ट्रक व्यवसायी समिति, जिप समिति, होटल तथा रेस्टुराँ व्यवसायी सङ्घ, रिक्सा व्यवसायी समिति लगायत व्यवसायीले जुलुसको प्रतिनिधित्व गरेका थिए।
 
जुलुसपछि आयोजित सभामा रुपन्देही व्यापार सङ्घका अध्यक्ष मोतिलाल पाण्डेले प्रादेशिक हिसाबले सबैभन्दा शान्त रहेको यस क्षेत्रमा जनचाहना विपरित सरकारले तराई र पहाड विभाजन गरेर अशान्ति निम्त्याएको बताए। उनले यस क्षेत्रमा पहाड र तराईको सदियौंदेखि घिउ र नुनको सम्बन्धलाई तोड्ने गरी ल्याइएको संविधान संशोधन विधेयक कदापि स्वीकार्न नसकिने बताए।

बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष महेशमान सिंहले सरकाले यो प्रदेशलाई पहाड र तराईमा विभाजन गरेर जनतालाई जबर्जस्ती आन्दोलित बनाएकाले तत्काल फिर्ता गर्न माग गरे। रुपन्देही उद्योग सङ्घका अध्यक्ष दिनेशराज रेग्मीले सरकारले यो प्रस्ताव फिर्ता नगरेसम्म आन्दोलन नरोकिने बताए।
 
प्रदेश विभाजनको विरोधमा तीन दिनदेखि बन्द भएका यहाँका उद्योग, व्यवसाय, शिक्षण संस्था, यातायात सेवा आज पनि पूर्णरुपले बन्द छन्। बन्दका कारण पूर्व–पश्चिम राजमार्ग तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्गमा चल्ने सवारी साधन ठप्प छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell