
काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले औचित्य र आवश्यकता बिनाको संविधान संशोधन प्रस्ताव बाँदरको घाउसरह भएको बताएका छन्।
अनलाइन पत्रकारहरुसँगको कुराकानीमा भट्टराईले यो संशोधन प्रस्तावले धरातलीय र वास्तविकता सम्बोधन गर्न नसक्ने बताए। संशोधन प्रस्तावका कारण प्रमुख दलको अन्तरविरोधलाई कटुतामा बदल्न खोजेको भन्दै उनले प्रस्ताव फिर्ता लिन पनि आग्रह गरेका छन्। 'प्रस्ताव फिर्ता लिइयोस् र तीन दलको सहमतिमा पुन: अर्को प्रस्ताव लैजान सकिन्छ,' उनले भने। यही संशोधन मान्ने हो भने विगतको संविधानसभाले किनारा लगाएका आत्मनिर्णय र अग्राधिकारको बहस पुन: बाहिर आउने उनको भनाइ छ।
मैथिली, भोजपुरी, थारु लगायतका भाषालाई मातृभाषामा राख्ने र हिन्दीमा कामकाजी बनाउने षड्यन्त्र भइरहको भन्दै सचिव भट्टराईले थपे, 'नेपाल विखण्डनको ब्याड हो, ककसले कुनकुन बीउ छर्छन् भन्न सकिन्न।'